काठमाण्डौ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सङ्केत गरेको छ।  

सिंहदरबारस्थित काँग्रेसको संसदीय दलमा राजपा नेपालसँग सभापति देउवाले गरेको छलफलमा त्यस्तो सङ्केत गरेको हो। आफ्नो नेतृत्वमा बन्न लागेको सरकार पुरानै गठबन्धनको निरन्तरता भएकाले सरकार गठनमा सहयोग गर्न राजपा नेपालका नेताहरूलाई आग्रह गर्दै सभापति देउवाले भने, ‘प्रचण्ड नेतृत्वको सरकार स्थानीय तहको चुनाव र संविधान संशोधनको कार्यभार लिएर बनेको हो, त्यसलाई आफ्नो नेतृत्वको सरकारले पनि निरन्तरता दिने भएकाले गठबन्धनलाई बलियो बनाउन सहयोग गर्नुहोस् । ’ ‘मेरो लक्ष्य दुई तिहाइ बहुमत पुर्‍याएर सरकार गठन गर्नु हो र सोही बहुमत लिएर संविधान संशोधन पनि गर्ने योजना रहेकाले यसमा राजपा नेपालको पूर्ण समर्थन रहने अपेक्षा छ,’ उनले भने, ‘दोस्रो चरणको चुनाव सम्पन्न गरेर संविधान संशोधनको प्रक्रियामा लाग्नेछौँ, त्यसैले अहिलेदेखि नै यसको पृष्ठभूमि तयार गर्दै जानुपर्छ । ’ 

त्यसको जवाफमा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले यो गठबन्धन आफूहरूको सहयोगमा निर्माण भएकाले त्यसलाई जोगाउनु आफूहरूको कत्र्तव्य हो यद्यपि यसको आधिकारिक निर्णय आइतबार मात्र गर्ने धारणा राखे।  

छलफलमा सहभागी राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीका अनुसार तीनबुँदे सम्झौता गरेर वर्तमान गठबन्धन बनेको थियो तर अझै तीनबुँदे सम्झौता कार्यान्वयन भएको छैन, आफूहरूलाई विश्वास छ, अब बन्ने नयाँ सरकारले तीनबुँदे सम्झौता कार्यान्वयनमा ध्यान दिनेछ भनेर सभापति देउवालाई स्मरण गराइएको छ ।  

सरकारले आफूहरूको माग पूरा गरेर चुनावको वतावरण बनाए समर्थन गर्न कुनै समस्या नरहेको बताउँदै अध्यक्ष भण्डारीले तर यथास्थितिमा नै समर्थन गर्न भने नसकिने बताए।  उनले भने, ‘शेरबहादुरजीको नेतृत्वमा गठन हुने सरकारले राजपा नेपालको माग कसरी पूरा गर्छ, त्यसको रोडम्याप आउनुपर्छ। ’ देउवालाई प्रधानमन्त्री बनाउनमा सहयोग गर्ने कि नगर्ने विषयमा छलफल गर्न आइतबार ९ बजे राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बस्ने जनाइएको छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ।