काठमाण्डौ । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न माग गरेका हुन् ।  

योसँगै राजपा निर्वाचनमा जाने सम्भावना कमजोर भएको छ । राजपा निर्वाचनमा नगए मधेस आन्दोलनको एउटा धार छुट्ने छ । यो पक्ष राजनीतिक मूलधारबाट समेत औपचारिक रुपमा अलग हुन्छ ।

उपेन्द्र यादव र विजय गच्छदारका दल निर्वाचनमा जाने, तर ६ दल मिलेर बनेको राजपा निार्वचनमा नजाने अवस्थामा मधेसको राजनीति औपचारिक रुपमा कित्ताकाट हुनेछ । अहिलेसम्मको विवाद काठमाडौं र मधेसको भन्ने थियो, अब मधेसभित्र नै निर्वाचन पक्षधर र निर्वाचनविरोधी हुनेछ । यस्तो कित्ताकाटले मधेसको समस्या थप जटिल बन्ने विश्लेषक तुलानारायण साहको मत छ ।

राजपा निर्वाचनमा नगए के हुन्छ ?

एउटा धार छुट्छ

दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपा सहभागी नहुँदा मधेस आन्दोलनको एउटा पक्ष राजनीतिक मूलधारबाट औपचारिक रूपमै अलग हुन्छ । मधेस आन्दोलनका पक्षधर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम निर्वाचनमा सहभागी भएकाले मधेसी राजनीति पूर्णतः अलग भने हुनेछैन । विश्लेषक तुलानारायण साहले मधेसमा निर्वाचन रोकिने सम्भावना भने नरहेको तर एउटा पक्ष छुट्दा राजनीतिक वैधानिकतामा भने प्रश्न उठ्ने टिप्प्णी गरे ।

मधेसको राजनीतिमा कित्ताकाट

उपेन्द्र यादव र विजय गच्छदारका दल निर्वाचनमा जाने, तर ६ वटा दल मिलेर बनेको राजपा निर्वाचनमा नजाने अवस्थामा मधेसको राजनीति औपचारिक रूपमा कित्ताकाट हुनेछ । अहिलेसम्मको विवाद काठमाडौं र मधेसको भन्ने थियो, अब मधेसभित्र नै निर्वाचन पक्षधर र निर्वाचनविरोधी हुनेछ । यस्तो कित्ताकाटले मधेसको समस्या झन् जटिल हुने साहको विश्लेषण छ । ‘राजपा निर्वाचनमा सहभागी नहुँदा मधेसभित्रै पनि धु्रवीकरण गराउँछ,’ साहले नयाँ पत्रिकासँग भने ।

दीर्घकालीन तनाव

अहिले निर्वाचनमा नजाने भनेको स्थानीय तहको नेतृत्वबाट पाँच वर्षसम्म पूर्णतः अलग हुनु हो । त्यस्तै स्थानीय तहमा भूमिकाविहीन भएको दल प्रादेशिक र संघीय निर्वाचनमा सहभागी हुने सम्भावना स्वतः कम हुन्छ । त्यसैले राजनीतिमा आफ्नो सान्दर्भिकता बचाइराख्न पनि राजपाले तनाव चर्काउन सक्छ । यस्तो अवस्थामा संविधानविरोधी समूहले वैधानिकता पाउने र द्वन्द्व बढ्ने साहको विश्लेषण छ । ‘राजपाविनाको निर्वाचनले मधेसमा राजनीतिक द्वन्द्व निरन्तर रहने खतरा देखिन्छ,’ साहले नयाँ पत्रिकासँग भने ।

राजपाका उदारवादीले पार्टी छाड्छन्

निर्वाचनमा सहभागी हुने विषयमा भएको अलमलले राजपाका जिल्ला र स्थानीय तहका नेताले पार्टी छाड्न थालेका छन् । स्थानीयस्तरका नेताहरू राजपा छाडेर उपेन्द्र यादवको संघीय समाजवादी फोरम, विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम, कांग्रेस, एमाले र माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आफ्नो भूमिका बढाउन चाहने अन्य दलमा प्रवेश गर्दा राजपाको शक्तिमा क्षय हुनेछ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।