काठमाण्डौ । एनआइसी एशिया बैंकले सप्तरीको राजविराजमा समेत शाखा बिस्तार गरी औपचारिक संचालनमा ल्याएको छ । 

आइतबार एक समारोहका बीच राजविराज नगरपालिका वडानम्बर ८ मा स्थापित शाखाको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले उद्घाटन गरे । सो क्रममा उनले दुर्गम र ग्रामीण भेगमा बैंकले शाखा सञ्जाल बिस्तार गरी उपस्थिति बाक्लो बनाउँदै लगेकोमा प्रशंसा गरे ।

हालसम्म एनआइसी एशियाको शाखा सञ्जाल संख्या २७७ पुगेको छ । देशभर २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ।