काठमाण्डौ । पूँजीगत लाभकरको झञ्झटिलो गणना विधिको विषयमा समाधान खोज्न अर्थमन्त्रालयले डाकेको बैठक निश्कर्षविहीन बन्न पुगेको छ । 

अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेको समन्वयमा पूँजीगत लाभकर गणनामा देखिएको समस्या समाधानका लागि सोमबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएससीसहितको बैठक डाकिएको थियो । 

घिमिरेले तीनवटै निकायका प्रमुखहरुलाई सोमबार छलफलका लागि भन्दै मन्त्रालय डाकेका थिए । दिउँसो २ बजेदेखि सुरु भएको छलफल निश्कर्षविहीन बन्न पुगेको मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ । 

मन्त्रालयमा भएको छलफलमा लगानीकर्ताहरुले उठाइरहेका माग सम्बोधन गर्न नसकिने विषयमा सम्बद्ध अधिकारीहरुले जोड दिएका थिए । लाभकरको स्वयम् घोषणाका लागि लगानीकर्ता ब्रोकर अफिसमै गएर ल्याप्चे लगाउने प्रणाली खारेज हुनुपर्नेमा छलफलमा सहभागी केहीको जोड थियो । 

राजश्व सचिव घिमिरेले समेत बजार डिजीटाइजेसनमा गइसकेको अवस्थामा ल्याप्चे लगाउने प्रणालीको विकल्प खोजिनुपर्नेमा जोड दिंदै पूँजीगत लाभकर गणना विधिप्रति लगानीकर्ताले जाहेर गरिरहेको असन्तुष्टिको विषयमा समेत सम्बद्ध निकायका प्रतिनिधिबाट कुरा बुझ्ने काम गरेका थिए । 

सो क्रममा छलफलमा सहभागीहरुको एउटै मत नदेखिएको र ठोस निर्णय गर्न नसक्ने अवस्था भएपछि मंगलबार पुनः भेला हुने गरी मन्त्रालयले छलफलमा सहभागीलाई विदा गरेको बताइएको छ । 

भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नुपर्ने सिडिएससी र ब्रोकरले सूचना जारी गरेसँगै लगानीकर्ता आन्दोलनमा छन् । 

आइतबार बिहान लगानीकर्ता र ब्रोकरहरु समस्या समाधानको उपाय खोज्ने उद्देश्यले छलफलमा बसेका थिए । सो क्रममा ब्रोकरहरुको समेत आन्तरिक सहमतिमा लगानीकर्ताका चारवटा संघसंगठनले संयुक्त रुपमा कारोबार राफसाफ नगरिदिन र लाभकर गणनाको झञ्झटिलो विधि स्थगन गरिदिन सिडिएसीलाई आग्रह गर्दै संयुक्त पत्र पठाएका थिए । 

लगानीकर्ताको पत्र बुझ्दै सिडिएससीका सीइओ देवप्रकाश गुप्ताले ‘असार ३१ लाई कटअफ डेट मानौं, परेको जोखिम म व्यहोर्छु’ भन्ने प्रस्ताव समेत राखेका थिए । 

आइतबार नै लगानीकर्ताका नेताहरु अर्थ मन्त्रालयमा पुगेर राजश्व सचिव लालशंकर घिमिरेसमक्ष आफ्ना गुनासो र पीडा पोखेका थिए । सचिव घिमिरेले नेप्से, बोर्ड र सिडिएससीलाई १२ घण्टे अल्टिमेटम दिएको र भोलिसम्म समस्या सम्बोधन हुने वचन दिएपछि लगानीकर्ताका नेता खुशी र उत्साही भएर फर्किएका थिए । 

तर, आइतबार लगानीकर्ताका नेतालाई खुशी पारेर फर्काउने घिमिरेले सोमबारको छलफलमा भने यो विषय कडाईका साथ उठाउन सकेनन् । उनले लाभकरको स्वयम् घोषणाका लागि ल्याप्चे लगाउन ब्रोकर अफिसमै स्वयम् लगानीकर्ता उपस्थित हुनुपर्ने विषयको विकल्प खोज्न भने पनि पूँजीगत लाभकर गणनाको नयाँ विधि र कट अफ डेटको विषयमा रहेको अन्यौल अन्तका लागि कुनै प्रस्ताव नगरेका स्रोतको दाबी छ । 

एकातिर १२ घण्टे अल्टिमेटम दिएका राजश्व सचिवको भूमिका सोमबार परिवर्तन भएको छलफलमा सहभागीहरुले महसुस गरेका छन् भने अर्कोतर्फ राफसाफ रोक्न लगानीकर्ताबाट सामूहिक आग्रह कार्यान्वयनमा आएको छैन । सिडिएससीले राफसाफलाई रोकेको छैन । उसले माथिल्लो निकायको निर्देशनबिना आफूहरुले मात्र राफसाफ रोक्ने निर्णय लिन नसक्ने आफ्नो बाध्यता व्यक्त गरिरहेको छ ।