काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  राडार  बिग्रेपछि उडान र अवतरण प्रभावित भई सयौं  यात्रुहरु बिचल्लीमा परेका छन् । 

बुधबार रातिदेखि नै बिग्रिएको सर्भिलेन्स राडार समयमै मर्मत नहुँदा एउटा जहाज उडेपछि अर्को जहाज उड्ने समय बढेको र यसले उडान र अवतरण समयमा नहुँदा आन्तरिक  टर्मिनलमा यात्रुहरुको घुइँचो लागेको छ । 

राडार बिग्रिएपछि अन्तराष्टिय उडान पनि प्रभावित  भएको विमानस्थलका प्रवक्ता  प्रेमनाथ ठाकुरले बताए । 

बिजशालासँग कुरा गर्दै उनले उडान र अवतरणमा डिले हुने समस्या आए पनि कुनै पनि उडान रद्ध गर्नु चाहि नपरेको दाबी गरे । डिले भएकै कारण आन्तरिक टर्मिनमा यात्रुको घुइँचो लागेको उनको भनाई छ । उनकाअनुसार राडार बिग्रिएपछि एयर ट्राफिक कन्ट्रोलरहरुलाई निकै समस्या भएको छ । यसैका कारण बिमानको ‘डिस्ट्यान्स मेन्टेन’ गर्नुपर्ने भएका कारण उडान अवतरण ‘डिले’ भएको उनले बताए ।

तर, उनले भनेजस्तो केही ढिला मात्र नभई विमानस्थलामा घण्टौ कुर्नुपरेको भन्दै यात्रुहरुले आक्रोश पोखेका छन् । कतिपय यात्रु आन्तरिक टर्मिनलमा बस्ने ठाउँको अभाव भएपछि उभिएरै आफ्नो उडानको प्रतिक्षा गरिरहेका देखिन्थे ।

कतिपय यात्रुहरुले चाहि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा र जनकपुर भ्रमणको पूर्वतयारीका कारण विमानस्थलमा उडान अवतरण प्रभावित भएको आरोप लगाएका छन् ।

विमानस्थलमा आफन्त लिन पुगेकाहरु विमान ‘डिले’ भएपछि घण्टौंदेखि कुर्नुपर्ने बाध्यतामा परेका छन् । 

राष्ट्रपति मुखर्जी बुधबार नेपाल भ्रमणमा आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल करिब ५० मिनेटसम्म बन्द गरिएको थियो । त्यस बेला पनि यात्रुहरु मर्कामा परेका थिए ।

शुक्रबार २ पटक बन्द हुने
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दुईपटक बन्द हुने भएको छ । उनी काठमाडौंवाट जनकपुर र पोखरा जाँदा विमानस्थल डेढ घण्टा बन्द हुने  प्रवक्ता ठाकुरले बताए । उनका अनुसार मुखर्जी जनकपुर जाने क्रममा विहान दस बजेदेखि साढे दस बजेसम्म विमानस्थल बन्द हुनेछ । त्यस्तै, जनकपुरबाट उनी दिउँसो दुई बजे पोखरा जानेछन्। पोखराबाट काठमाण्डौ फर्किएपछि विमानस्थलबाटै भारतीय राष्ट्रपति भारत फर्किने कार्यक्रम  छ । ठाकुरका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको स्वदेश फिर्तीका समय बेलुका सवा चार बजेदेखि पाँच बजेर १५ मिनेटसम्मका लागि  पनि त्रिभुवन विमानस्थल बन्द हुनेछ । 

स्रोतका अनुसार पोखरा र जनकपुर भ्रमणका लागि बुद्ध एयरको जहाज चार्टर्ड गरिएको छ । पोखरा विमानस्थल भने एक घण्टा प्रभावित हुनेछ ।  जनकपुरबाट पोखरा र पोखराबाट काठमाडौं फर्किने क्रममा पोखरा विमानस्थल एक घण्टा बन्द हुनेछ।