काठमाण्डौ । आगामी २ महिनाभित्रमा रादी विद्युत कम्पनीले १० लाख बढी कित्ता सेयर सर्वसाधारणका लागि आइपीओ(इनिसियल पब्लिक अफरिङ) गर्ने भएको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको आइपीओ गर्न प्रस्ताव गरिएको कुल सेयरमध्ये ४ लाख १० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र र बाँकी ६ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण र रादी विद्युत कम्पनीका कर्मचारीका लागि आइपीओ गरिने बताइएको छ ।

नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले रादी विद्युत कम्पनीको आइपीओलाई ग्रेड ३ को रेटिङ प्रदान गरेको छ । यो स्तरको ग्रेड कम्पनीले प्राप्त गर्नुलाई मध्यम मानिन्छ । यसको अर्थ यो कम्पनीको आइपीओमा लगानी गर्नु लगानीकर्ताको हितमै देखिन्छ । 

रादी विद्युतले भविष्यमा कुनै सहायक कम्पनी स्थापना गरी थप कुनै जलविद्युत आयोजना विकासको उद्देश्यले लगानी जुटाउन यति ठूलो संख्यामा सेयर आइपीओ गर्न लागेको अधिकारीहरुले बताएका छन् । 

नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड यो कम्पनीको आइपीओको बिक्री प्रबन्धक रहेको छ । 

रादी विद्युत कम्पनीका एक अधिकारीका अनुसार १० लाख २५ हजार कित्ता सेयर आइपीओको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको र अबको दुई महिनाभित्रमा प्रस्तावित आइपीओ स्वीकृत भई आवेदन खुल्ला गर्ने योजना रहेको छ । 

४.४ मेगावाट क्षमताको रादी विद्युत कम्पनी लिमीटेड २०६२ सालमा स्थापना भएको हो । यो कम्पनीले नेपालका विभिन्न भेगका खोला तथा नदीबाट विद्युत उत्पादनको लक्ष्य लिएको छ ।