काठमाण्डौ । रादी विद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओको बुधबार बाँडफाँड हुने भएको छ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडका अनुसार ७ करोड ६४ लाख मूल्यको आइपीओ खरीदका लागि १ लाख ६१ हजार आवेदकले १ अर्ब ३० करोडको हाराहारीमा प्रस्ताव परेको थियो । यो हिसाबले करिब १७ गुणा भन्दा बढी आवेदन परेको आइपीओको बाँडफाँड बुधबार बिहान हुने भएको हो ।

यो कम्पनीले ७ लाख ६४ हजार ५ सय ५० कित्ता आइपीओ पुस ३ देखि ६ गतेसम्म निश्कासन गरेको थियो । 

यो कम्पनीले निश्कासन गरेको आइपीओमध्ये १५ हजार २ सय ९१ कित्ता आफ्ना कर्मचारीका लागि र ३८ हजार २ सय २८ कित्ता अस्तित्वमा रहेका सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरिएको छ । यसको अर्थ सर्वसाधारणका लागि कुल ७ लाख ११ हजार ३१ कित्ताबाट बाँडफाँड हुनेछ ।

आवेदकमध्ये ७१ हजार १ सय ३ जनाले मात्र गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाउनेछन् ।  बाँकी ९० हजार हाराहारी आवेदकको रित्तो हात हुनेछ । 

यो कम्पनीले गत बैशाख ५ देखि जेठ ३ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख १० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, सो क्रममा १ ला ४९ हजार ५ सय ५० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको यो कित्ता पनि यसपटककै निश्कासनमा समावेश गरिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो ।  
रादी विद्युत कम्पनी लिमीटेडले लमजुङमा ४.४० मेगावाट क्षमताको साना रादी जलविद्युत आयोजना संचालन गरिरहेको छ । 

यो कम्पनीको चुक्तापूँजी ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापुँजी ४१ करोडको उचाईमा पुुग्नेछ ।