काठमाण्डौ । एकता महाधिवेशन सम्पन्न भएको ६ महिना नपुुग्दै राप्रपा फूटेको छ । 

एकता महाधिवेशनपछिदेखि नै चुनाव चिन्ह गाई वा हलो भन्ने बिषयमा आन्तरिक रुपमा विभाजनको शिकार भएको यो दल आइतबार औपचारिक रुपमा फुटेको हो । 

कमल थापाको कार्यशैली र सत्तामोहबाट आजित भएको तथा चुनाव चिन्ह हलो नराखिएकै कारण स्थानीय निकायमा चौथो दल भएर पनि लज्जास्पद हार व्यहोर्नुपरेको विश्लेषणसहित पशुपति समशेर राणाको नेतृत्वमा पार्टी फूटाइएको छ । फूटेको नयाँ पार्टीको नाम राष्टिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राखिएको छ । कुनै बेला कांग्रेस फुटेर बनेको नयाँ दलको नाम पछाडि पनि प्रजातान्त्रिक नै राखिएको थियो । 

राणा समूहले नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् । नयाँ पार्टी खोल्नका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको आवश्यकता पर्छ । राणा नेतृत्वमा गठन हुने नयाँ पार्टीमा राप्रपाका ३७ मध्ये २२ सांसद रहेका दाबी गरिएको छ । यो हिसाबले कमल थापासँग १५ सांसद मात्र बाँकी रहनेछन् । 

राप्रपाका गेम चेञ्जरको रुपमा चिनिएको विक्रम पाण्डे, सुनिल थापा, दीपक बोहोरा समेत राणाकै नेतृत्वमा नयाँ पार्टीमा आएका छन् । 

यसैबीच, आफ्नो दल फूटेपछि राप्रपाका अध्यक्ष कमल थापाले घटनालाई दुुर्भाग्यपूर्ण भनेका छन् । ‘अधिकांश हस्ताक्षर नक्कली ।‘ उनले ट्वीट गर्दै भनेका छन्–‘विचलित नहुन कार्यकर्तालाई आह्वान।’