-भक्तराज रसाइली 
काठमाण्डौ । सेयर बजारमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौ६को अवधि टीप्लस वान बनाउने आफ्नै माग पूरा हुने अवस्थामा लगानीकर्तासँग सम्बद्ध विभिन्न संगठनका नेता किन पछाटि हटे ? सो व्यवस्था कार्यान्वयनको मुखमा नेताहरुले त्यसप्रति राखेको असहमतिको खबर बाहिरिएसँगै धेरैमा यो जिज्ञासाले घर गर्यो । 

लगानीकर्ताका एक नेताले यसको रहस्य खुलाएका छन् । सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बिजशालासँग कुरा गर्दै टी प्लस वानको व्यवस्थाप्रति अन्तिम अवस्थामा आफूहरुले असहमति जनाउनुपर्ने कारण बताएका हुन् । 

टी प्लस वानमा लगानीकर्ताहरुले आफूले सेयर किन्दा सोही दिन नै भुक्तानी गर्नुपर्ने, तर सेयर बिक्री गर्दा चाहि ३ दिनपछि मात्रै सेयर बेचेको पैसा हात पर्ने भएकाले आफूहरुले यो विषयमा असहमति जनाएको अर्यालले दाबी गरे । 

नेप्सेले गत सोमबार आफ्नो कार्यालयमा डाकेको बैठकमा टीप्लस वानको कार्यान्वयनका लागि भएको छलफलमा संघका नेताहरूले टीप्लस वान  राफसाफ चक्र लागू हुँदा लगानीकर्ताले सेयर खरिद गर्दा ब्रोकरलाई आजै भुक्तानी दिनुपर्ने र बिक्री बापतको रकम भने ३ दिनपछि मात्रै हात पर्ने भएकाले यो किसिमको  व्यवस्थाले असमान व्यवहार भएको भन्दै आपत्ति जनाएका थिए । लगानीकर्ताका नेताको सोही आपत्तिका कारण सो दिनको छलफल निश्कर्षविहीन बन्न पुगेको अध्यक्ष अर्यालको भनाई छ । 

लगानीकर्ताले बेचेको सेयरको पैसा ३ दिनपछि मात्र हात लाग्ने अवस्थाका पछाडि नेप्सेले केही कठिनाईहरु देखाए पनि त्यसमा आफूहरु सहमति हुन नसकेको अर्याल बताउँछन् । 

‘हामीले बरु इन्ट्राडे कार्यान्वयनमा ल्याउनुहोस् भनेका छौ।’ बिजशालासँगको विशेष अन्तर्वार्तामा अर्यालले भने–‘हाम्रो ४ वटै संघसंगठनको भोलि(शुक्रबार) बैठक बस्दैछ र हामी पनि सेयर बेचेको भोलिपल्टै लगानीकर्ताले पैसा पाउनुपर्ने गरी टीप्लस वान कार्यान्वयन हुनुपर्ने निर्णयमा पुग्दैछौ ।’