काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकले छोटो समयमै गरेको प्रगतिको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 

बैंकको ५५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकले आफ्नो भव्य महलसँग मिल्ने गरी बल्ल आकर्षक र भव्य वासलात(ब्यालेन्ससिट) बनाएको भन्दै बधाई समेत दिए । 

‘अब बल्ल तपाईको ब्यालेन्ससिटले भव्य भवनलाई सही प्रतिनिधित्व गर्ने अवस्था बनेको छ ।’ उनले भने–‘मैले यसअघि भनेको थिएँ कि भवनको भव्य सुन्दरतासँग वासलातको सुन्दरता म्याच भएको छैन । तर, अब अवस्था त्यो रहेन ।’ 

उनले बैंकले २२ अर्बको नेटवर्थ बनाइसकेको उल्लेख गर्दै थपे–‘भव्य भवनसँग तपाईको वासला म्याचिङ भएकोमा फेरि पनि बधाई ।’

उनले विगतको एक दशकमा राष्ट्रिय वाणिज्य बैंक मात्र नभई देशकै समग्र बैंकिङको प्रगति समेत द्रूत गतिमा भएको बताए । 

‘१० वर्षमा बैंकको पूँजीकोष ह्वात्तै बढेको छ । ५० अर्बको पूँजीकोष बढेर ५०० अर्बको भइसक्यो । यो अवधिमा ७ गुणा भन्दा बढीले निक्षेप बढिसक्यो, शाखा त कत्ति भए कत्ति ! १० वर्षअघि मुलुकको जीडीपीमा बैंकको कर्जा ४० प्रतिशत हाराहारी थियो, वाणिज्य बैंकको मात्र ३५ प्रतिशत थियो । अहिले वाणिज्य बैंकको मात्र ७० प्रतिशत हुन थालिसक्यो । निस्क्रिय कर्जाको अनुपात दक्षिण एशियामै राम्रोछ ।’ उनले भने–‘अहिले कर्जा र जीडीपीबीचको अनुपात ८० प्रतिशत नाघिसकेको छ । यसको अर्थ कि त कर्जा छिटो बढिरहेको छ वा जीडीपी सोचेजस्तो बढिरहेको छैन । कुल ग्राहस्थ उत्पादनको सबै आधार परिवर्तन गर्दैछौ ।’

उनले राबा बैंकको शाखा सञ्जाल ७७ जिल्लामा पुगेको उल्लेख गर्दै खाता संचालन र अन्य केही कुरामा प्रतिस्पर्धी अझै हुने ठाउँ बाँकी रहेको बताए । 

उनले आगामी दिनमा राबा बैंकलाई सामाजिक उत्तरदायीत्वमा समेत केन्द्रीत हुन आग्रह समेत गरे । 

उनले कर्जाको जोखिम विविधिकरणका लागि समेत सहुलियतपूर्ण कर्जामा विशेष ध्यान राख्न आग्रह गर्दै सूचना प्रविधि तथा सिस्टमको सुरक्षामा समेत लगानी बढाउन आग्रह गरे । 

उनले पहिला पहिला हड्तालले समस्याग्रस्त हुने राबा बैंकमा त्यो हुन छाडेको र प्रगति पथमा लम्किएकोमा खुशी समेत व्यक्त गरे । ‘बैंकमा व्यवसायिक ढंगले अगाडि बढेको छ । अहिले यहाँसम्म ल्याइपुर्याउनुभयो । अझै पनि उत्पादकत्व बढाउने ठाउँ छ, त्यहाँ हेर्नुहोस्।’ उनले थपे ।