काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको देशको सबैभन्दा ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकलाई तीव्र सुधार गरेका किरणकुमार श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा दोश्रो कार्यकाल पनि निरन्तरता पाएका छन् । 

बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरेको हो । 

सीइओ श्रेष्ठको पहिलो कार्यकाल यही चैत २९ गते सकिँदै थियो । 

सीइओ श्रेष्ठको कार्यकाल सकिनु केही दिनअघि अर्थमन्त्रालयबाट बैंकको संचालकको रुपमा प्रतिनिधित्व गरिरहेका धनिराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन भएको थियो । सो कमिटीले श्रेष्ठले राष्टिय वाणिज्य बैंकमा सीइओको रुपमा आउनुअघि गरेको सम्झौता र सोअनुसार काम भए या नभएको विषयको मूल्यांकन गरेको थियो । त्यस्तै सो कमिटीले श्रेष्ठसँग आगामी चार वर्षका लागि समेत विजिनेश प्लान मागेको थियो । श्रेष्ठले दिएको विजिनेश प्लानको विषयमा समेत पर्याप्त अध्ययन गरेपछि उनलाई नै सीइओको रुपमा निरन्तरता दिने निर्णय भएको एक संचालकले जानकारी दिए । 

सीइओ श्रेष्ठले पहिलो कार्यकालका लागि गरेको सम्झौताभन्दा पनि निकै राम्रो प्रदर्शन गरेका, बैंकलाई नम्बर वानको अवस्थामा पुर्याएका, अधिकांश सूचकमा तीव्र सुधार गरेका, स्मार्ट र रहरलाग्दो बनाएका र सम्झौतामा उल्लेख भएका भन्दा पनि बढी काम गरेका देखिएको भन्दै उनको कामप्रति संचालक समितिले प्रशंसा समेत व्यक्त गरेको थियो ।

श्रेष्ठले आगामी कार्यकालभरिमा बैंकलाई अझ रहरलाग्दो र भरलाग्दो बनाउने, निजी बैंकको तुलनामा अझ बढी स्मार्ट बनाउने लगायतका विजिनेश प्लान समेत बुझाएका छन् ।