काठमाण्डौ । योग गुरु बाबा रामदेवको पंतजली कम्पनीबाट उत्पादन भएको थुप्रै सामान उत्तराखण्डको ल्याब टेस्टमा फेल भएको छ। यसले आफ्नो कम्पनीबाट उत्पादन हुने सामानको उच्च गुणस्तरको दावी गर्ने रामदेवलाई ठूलो धक्का लागेको छ।

भारतबाट प्रकासित हुने हिन्दुस्तान टाइम्स पत्रिकाले आरटीआईको रिपोर्टलाई उदृत गर्दै लेखेको छ– हरिद्धारको आयुर्वेद र युनानी कार्यालयमा भएको जाँचमा करिब ४० प्रतिशत आयुर्वेद सामान मापदण्ड अनुकुल थिएनन्।

रिपोर्ट अनुसार २०१३ र २०१६ को बीचमा उत्पादन भएको सामानको ८२ स्याम्पललाई चेक जाँच गर्दा ३२ वटा समानमा क्वालिटी देखिएको थिएन्। पंतजलीको ‘दिब्य अमला जुस’ र ‘शिवलिंगी बीज’ ले क्वालिटी टेस्ट पास गर्न नसकेको बताइएको छ।

गत महिना मात्र भारतीय सेनाको क्यान्टिनबाट पंतजलीको अमला जुसलाई प्रतिबन्ध लगाइएको थियो। पंतजलीका कार्यकारी निर्देशक आचार्य बालकृष्णले ल्याबको रिपोर्टप्रति असहमति जनाए। उनले पंतजलीको छवि धमिलो पार्ने योजना अनुरुप काम भएको आरोप लगाएका छन्।