काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले असार १ गतेदेखि लागू हुने गरी विपन्न वर्ग कर्जाअन्तर्गत व्यक्तिगत कर्जामा ८.०५ प्रतिशत ब्याजदरमै ऋण प्रवाह गर्ने भएको छ ।

बैंकको तेश्रो त्रैमासको आधार दर ५.३८ प्रतिशत छ । बैंकले आइतबार विभिन्न खालका कर्जाको प्रिमियम दर सार्वजनिक गर्दै विपन्न वर्ग कर्जाअन्तर्गत व्यक्तिगत कर्जाको दर २.६७ प्रतिशत कायम गरेको हो । यसमा आधार दर जोड्दा ८.०५ प्रतिशत ब्याजमै यस्तो कर्जा ग्राहकले पाउने भएका हुन् ।  

बैंकले तयार पारेको मापदण्ड पूरा गरेमा अब सजिलै तरिकाले यो कर्जा अत्यन्त न्यून ब्याजदरमा पाइने बैंकका अधिकारीहरुले बताएका छन् । यो कर्जाबाट सर्वसाधारण निकै लाभान्वित हुने उनीहरुको दाबी छ । 

त्यस्तै बैंकले न्यूनतम २ देखि अधिकतम ४ प्रतिशत प्रिमियम दरमा आवधिक कर्जाअन्तर्गत सरकारी सुरक्षणपत्रको धितोमा जाने कर्जा, मुद्दति रसिदको धितोमा जाने कर्जा र प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जा उपलब्ध गराउने भएको छ । यही दर उसले संस्थापकतर्फ थोक कर्जा, प्रत्यक्ष कर्जा र सहुलियतपूर्ण कर्जा, पुनरकर्जा, टीआर÷आयात कर्जामा पनि ऋण प्रवाह गर्ने सार्वजनिक सूचना जारी गरेको छ । संस्थापक कर्जाअन्तर्गत सबैभन्दा न्यून ०.६७ प्रतिशत प्रिमियदरमा राष्ट्रिय वाणिज्य बैंकले निर्यात कर्जा उपलब्ध गराउने निर्णय गरेको छ। 

रावा बैंकको घर कर्जाअन्तर्गत उसले ५ वर्षसम्म ३ देखि ३.६७, १० वर्षसम्म ४ देखि ४.६७ र १५ वर्षसम्म ५ देखि ५.६७ प्रतिशत प्रिमियमदरमा ऋण प्रवाह गर्ने भएको छ । त्यस्तै महालक्ष्मी घर कर्जातर्फको प्रिमियम दर उसले १० वर्षसम्मका लागि ३ देखि ३.६७ र १५ वर्षसम्मका लागि ४ देखि ४.६७ प्रतिशत निर्धारण गरेको छ ।

गाडी कर्जा, शिक्षण कर्जा, राष्ट्रसेवक कर्जा र शैक्षिक कर्जातर्फ रावा बैंकले न्यूनतम ३ देखि अधिकतम ४ प्रतिशतसम्म दर कायम गरेको छ । त्यस्तै चालुपुँजी कर्जातर्फ ओभरड्राफ्ट, हाइपोथिकेसन र धितो कर्जाको प्रिमियमदर  न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशत तोकेको छ । 

रावा बैंकले असार १ गतेदेखि नै लागू हुने गरी निक्षेपको ब्याजदर पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत बचत निक्षेप (स्वदेशी मुद्रामा) सामान्य बचत खाता, रावा बैंक विशेष बचत खाता, सुनौलो बचत खाता, डायमन्ड बचत खाता, कर्मयोगी बचत खाता र महालक्ष्मी बचत खाताका लागि उसले न्यूनतम १ हजारदेखि १० हजारसम्म राख्नुपर्ने प्रावधान बनाएको छ भने वार्षिक ब्याजदर ३.५० देखि ५.५० उपलब्ध गराउने निर्णय गरेको छ । 

त्यस्तै निक्षेपतर्फ शिक्षण बचत खातातर्फ न्यूनतम ५०० रुपैयाँ बचत गर्नुपर्ने र ५.५० प्रतिशतसम्म वार्षिक ब्याजदर बैंकले उपलब्ध गराउनेछ । 

रावा बैंकको नयाँ निक्षेप दरअन्तर्गत शून्य मौज्दातअन्तर्गत नेपाल सरकार पेन्सनर बचत खाता, रावा बैंक पेन्सनर बचत खाता, सामाजिक सुरक्षा बचत खाता, कृषि अनुसन्धान पेन्सनर बचत खातालगायतमा ५.५० वार्षिक ब्याजदर कायम गरिएको छ । 

त्यस्तै बचेत निक्षेप (विदेशी मुद्रामा) तर्फ अमेरिकी डलरमा न्यूनतम मौज्दात २०० डलर गर्नुपर्ने र वार्षिक ब्याजदर १.५ प्रतिशत कायम गरिएको छ भने युरोतर्फ न्यूनतम २०० युरो मौज्दात गर्नुपर्ने र वार्षिक ब्याजदर ०.७५ प्रतिशत काम गरिएको छ । अन्य मुद्राको हकमा भने रावा बैंकले न्यूनतम मौज्दात २०० अमेरिकी डलर मौज्दात गर्दा ०.७५ प्रतिशत वार्षिक ब्याजदर निर्धारण गरिएको सूचनामा उल्लेख छ ।

यसैगरी रावा बैंकले विशेष मुद्दति निक्षेपतर्फ १ वर्षेदेखि ५ वर्षेसम्मको योजनामा न्यूनतम मौज्दात ५० हजार रुपैयाँमा ७ प्रतिशतदेखि ८.५० प्रतिशतसम्म वार्षिक ब्याजदर कायम गरेको छ । त्यस्तै कर्पोरेट मुद्दति निक्षेपतर्फ ३ महिनेदेखि ३ वर्षे योजनातर्फ न्यूनतम ५ लाख मौज्दातमा ६.५० प्रतिशतदेखि ८.५० वार्षिक ब्याजदर निर्धारण गरेको छ । 

रावा बैंकको गोल्डन मुद्दति (संस्थागत)तर्फ १ वर्षेदेखि २ वर्षेसम्म न्यूनतम मौज्दात १० लाख रुपैयाँ र वार्षिक ब्याजदर ८.५० निर्धारण गरिएको छ भने दीर्घायू मुद्दति निक्षेप (३ वर्षे) तर्फ न्यूनतम ५ लाख रुपैयाँ मौज्दात र ९.२५ वार्षिक ब्याजदर निर्धारण गरिएको छ । 

राबा बैंकको चैत महिनाको आधार दर ५.३८ प्रतिशत रहेको छ भने स्प्रेड दर ४.७०) प्रतिशत रहेको छ । त्रैमास सकिएको १५ गतेभित्र ब्याज चुक्ता गरेमा ०.५० प्रतिशत छुटको लाभ उपभोक्ताले लिन सक्नेछन् । 

आधार दरमा उल्लेखित प्रिमियम दर जोडेर कर्जाको ब्याजदर कायम गरिनेछ ।