काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी चयन भएका छन् ।

अधिकारी अर्थ मन्त्रालयका पूर्वसहसचिव हुन् । उनी गत असोज २० गते सेवानिवृत्त भएका थिए ।

बैंक सञ्चालक समितिले अधिकारीलाई गत सोमबार अध्यक्षमा चयन गरेको हो । उनले सोमबारै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालसँग पद तथा गोपनियता सपथ ग्रहण गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक मर्ज भएपछि सरकारले तत्कालीन सचिव महेन्द्रमान गुरुङलाई बैंक सञ्चालक समितिको अध्यक्ष बनाएको थियो। गुरुङले केही समयअघि अवकाश पाएपछि रिक्त स्थानमा अधिकारीलाई ल्याइएको हो।

सेवा निवृत्त भएका अधिकारीलाई सरकारले बैंकको सञ्चालक समितिको अध्यक्षता गर्ने गरी सदस्य पदमा नियुक्त गरेको थियो। अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेसँगै बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा अधिकारीलाई चयन गर्ने निर्णय गरेको हो।

अधिकारी अर्थ मन्त्रालयको सहसचिव रहँदा पनि राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य थिए।

सरकारी सेवामा करिब ३९ वर्ष बिताएका अधिकारी बजेट र राजस्व प्रशासनमा विशेष दख्खल राख्छन् । अर्थमन्त्री डा युवराज खतिवडाले अधिकारीलाई सुरुमा बजेट तथा कार्यक्रम महाशाखा र पछि राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएका थिए।

अधिकारी जनप्रशासन र नेपालीमा स्नातकोत्तर तथा अर्थशास्त्रमा स्नातक गरेका छन्।