काठमाण्डौ ।  आफू कमजोर धरातलमा उभिएर अरुको विरोध मात्र गर्ने र छिमेकीलाई चिढ्याउने गर्दा त्यसको उल्टो असर पर्छ । देश संचालन गर्नेहरुले त यो विषयमा अझ बढी ख्याल गर्नुपर्छ । छिमेकीहरुसँग व्यवहार गर्दा परिपक्व व्यवहार गर्नुलाई नै कुटनीतिक सवलता मानिन्छ । कुटनीतिक रुपमा सफल शासकहरु विदेशीलाई पनि चिढ्याउदैनन् र आफ्नो शिर पनि झुकाउँदैनन् । स्वाभिमानी बनेर कुटनीतिक क्षेत्रमा सफलता पाई देशलाई कहाँबाट कहाँ पुर्याएका विश्वका कैयन शासकहरु छन् । तर नेपालका शासकहरु यो कुरामा सधैं असफल बन्दै आएका छन् । अझ पछिल्लो समय भारतलाई देखाइदिने र ऊसँग बदला लिने नाममा केपी शर्मा ओलीले प्रदर्शन गर्न थालेको व्यवहारले नेपाल र भारतबीचको सम्बन्ध इतिहासकै सबैभन्दा खराब मोडमा आइपुगेको देखिएको छ । केही महिनाअघिसम्म नाकाबन्दीको ५ महिना लामो पिरलोबाट प्रताडित जनताले फेरि यस्तै महासंकटको सामना गर्नुपर्ने संभावना बढेको छ भने सरकारको अपरिपक्वताका कारण भारतप्रति निर्भर दैनिक जीवन समेत चौपट हुने खतरा बढेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँ दिल्लीमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी नेता कृष्णबहादुर महरासँग मिलेर भारतीय एजेन्सीका अधिकारीहरुले आफ्नो नेतृत्वको सरकार गिराउने खेल खेलेको भन्दै भारतलाई देखाइदिने रणनीतिका साथ अगाडि बढेका छन् । एमाले उच्च स्रोतका अनुसार यही कुराको स्पष्ट संकेत दिन उनले सार्वजनिक भइसकेको राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमण रद्ध गराएका छन् भने भारतीय पक्षमा लागेर सरकार गिराउन खोजेको भन्दै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । यसरी एकपछि अर्को गर्दै भारतविरुद्ध केन्द्रीत निर्णयहरुले सरकार मात्र होइन, समग्र देश नै अप्ठ्यारोमा पर्ने परिस्थिति सिर्जना हुँदै गएको विश्लेषकहरुले बताउन थालेका छन् । 

नेपालको ७५ प्रतिशतभन्दा बढी आयात व्यापार भारततर्फ नै  निर्भर छ । नूनदेखि सुनसम्म, तेलदेखि ग्याससँग, तरकारीदेखि चामलसम्म पनि भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ । भारतले यी वस्तुहरुको आयातमा निहुँ खोजेर रोक लगाइदियो भने मात्र नेपालमा हाहाकार मच्चिन सक्छ । भारत बाहेक चीनबाट पनि पारवहनको काम गर्न सकिने भनेर प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा सम्झौता भए पनि त्यो सम्झौता कार्यान्वयनको वातावरण बनिसकेको छैन । सम्झौता कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माणमै अझै केही वर्ष लाग्नेछ । यस्तो धराप अवस्थामा भारतसँग फेरि निहुँ खोज्ने, कुटनीतिक बचपना देखाउने कामले फेरि मुलुक र मुलुकबासीले सकस व्यहोर्नुपर्ने संभावना बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । 

राष्ट्रपति भण्डारीको भारत भ्रमण रद्ध गरिएसँगै भारतीय प्रधानमन्त्रीले बुद्धजयन्तीको अवसरमा बिहारका मुख्यमन्त्री नितिशकुमारसँगै नेपालको भ्रमण गर्ने र सम्बन्ध सुधार्ने भन्ने योजना समेत भारतले स्थगन गरेको स्रोतहरुले दाबी गरेका छन् । यसको अर्थ, ओलीले यताबाट भारतलाई देखाइदिने र उताबाट मोदीले नेपाललाई देखाइदिने खेलको दोहोरी हुँदा अन्ततः सोझा जनताले दुःख पाउने अवस्था बन्दै गएको सहजै आँकलन गर्न सकिन्छ । 

स्रोतका अनुसार भारतविरुद्ध प्रधानमन्त्री ओली नै लागेको बुझाईका साथ भारतीय गुप्तचर संस्था रअका केही अधिकारी र अन्य एजेन्सीका प्रतिनिधि समेत अहिले सुटुक्क काठमाण्डौ आएका छन् । उनीहरुले कांग्रेस र मधेशवादी दलहरुलाई संसद चल्नै नदिन, बजेट प्रस्तुत हुने वातावरण बनाउनै नदिन निर्देशन दिंदै खेलहरु खेलिरहेका छन् । उनीहरुले भारतलाई देखाइदिने भन्दै आक्रामक ढंगले लागेका प्रम ओलीलाई नै देखाइदिने भन्दै विभिन्न शक्तिकेन्द्रलाई परिचालन गरी काठमाण्डौमा खेलिरहेका स्रोतहरुले दाबी गरेको छ । केही विज्ञहरुले अवस्था निकै जटिल भएको भन्दै कतिपय महत्वपूर्ण  नेताहरुको सुरक्षामा गम्भीर बन्न र सचेत हुन समेत सरकारी अधिकारीहरुलाई सुझाव दिएका बुझिएको छ । 

फेरि नाकाबन्दी !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल आउँदा नेपाल सरकारले लुम्बिनीको भ्रमण गराउन नसकेकोमा आक्रोशित भएका थिए । पछिल्लो समय मधेशवादी दलहरुलाई काँधमा हालेर संविधानका कतिपय बुँदामा असन्तुष्ट हुँदै आएको भारतले संविधानलाई निहुँ बनाएर ५ महिनासम्म नाकाबन्दी लगाए पनि यसको भित्री कारण चाहि मोदीको रीस नै थियो । मोदीले लुम्बिनी जान नपाएको रीस नेपालमाथि नाकाबन्दी लगाएर फेरेका थिए । त्यति सानो इस्यूमा त त्यत्रो ठूलो रीस साँध्ने मोदीले अहिलेको ओलीको आक्रोशपन र भारतविरोधी खुलेआम गतिविधिलाई चूप लागेर सहलान् भन्ने अवस्था देखिन्न । ‘यस अर्थमा भारतले नेपालमाथि पहिला भन्दा निकै कडा नाकाबन्दी लगाउने संभावना बढ्दै गएको छ ।’ स्रोतले भन्यो–‘देशको प्रधानमन्त्रीजस्तो व्यक्ति सम्हालिएर अगाडि बढ्नुपर्छ, सम्हालिएर बोल्नुर्छ, ताकि उनको बचपनाका कारण सिंगो देशले फेरि दुःख नपाओस् ।’ 

नेपाली कांग्रेसका कतिपय नेताहरुले समेत भारतले कुटनीतिक नाकाबन्दी लगाउनसक्ने र नेपालमा फेरि महासंकट आउन सक्ने भन्दै सरकारको कार्यशैली परिवर्तन हुनुपर्ने माग गर्न थालेका छन् । उनीहरुले कुटनीतिक परिपक्वता देखाएर अगाडि बढ्न ओली सरकारलाई आग्रह गरेका छन् । 

यता, भारतविरुद्ध एमाले र एमाओवादीका नेता तथा उनीहरुले नेतृत्व गरिरहेको सरकार कडा रुपमा प्रस्तुत हुन थालेपछि भारतले मधेशवादी दलहरुलाई परिचालन गरेर फेरि हंगामा गर्न उक्साइसकेको छ । त्यसैको प्रतिक्रिया स्वरुप मधेशवादी दलहरुले शनिवार संसदमा हंगामा गरेका छन् । उनीहरुले प्रि बजेट छलफललाई बहिस्कार गर्दै आफ्ना मागप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारीको भारत भ्रमण रद्ध हुनु, सरकार गिराउने खेलमा भारतीय डिजाइन फेल हुनु, कांग्रेस कोटाबाट भारतका लागि राजदूत भएका दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेलगत्तै मधेशवादी दलहरुले पूर्व सहमतिका कुरा उठाएर संसदको बजेट अधिवेशनलाई बहिस्कार गर्नुलाई स्याल कराउनु र बाख्रा हराउनुको संयोग मात्र भन्न सकिन्न । ‘भारतले मधेशवादी दलहरुलाई उचालिसकेको छ ।’ एक विश्लेषकले भने–‘कांग्रेसका केही नेतालाई समेत उचालेको छ । मधेशवादी दल र कांग्रेसले आ–आफ्नै ढंगले सरकारलाई अप्ठ्यारोमा पार्ने देखिएको छ ।’ 

प्रतिपक्षसँग दूरी बढ्यो
प्रधानमन्त्री केपी ओलीले सरकार गिराउने खेलमा भारतीय गोटी बनेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग दूरी बढाउने काम गरिरहेका देखिएको छ । प्रजातन्त्रमा सरकार गिराउने, बनाउने कुरा सामान्य हो । यो कुरालाई सामान्य राजनीतिक अभ्यासको रुपमा लिन छाडेर ओली कांग्रेसलाई समेत देखाइदिने योजनाका साथ अगाडि बढेका देखिएको छ । त्यसैको पहिलो प्रहारको रुपमा सरकार गिराउने खेलमा लागेको, भारतीय गोटी बनेको जस्ता आरोप लगाएर कांग्रेस सरकारको पालामा भारतका लागि राजदूत बनाइएका दीपकुमार उपाध्यायलाई हठात् फिर्ता बोलाउने मन्त्रीपरिषदले निर्णय गरेको छ । यो निर्णयबाट प्रमुख प्रतिपक्षी कांग्रेस चिढिएको छ । त्यसै पनि एकपक्षीय ढंगले सरकार अगाडि बढेको, राजनीतिक नियुक्तिहरुमा स्वेच्छाचारी लादेको भन्दै कांग्रेस पहिलादेखि नै चिढिइरहेको छ । सकेसम्म सबै दलहरुलाई सहमतिमा ल्याएर जनताका प्रतिनिधिले ऐतिहासिक रुपमा बनाएको संविधानको सहज कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा प्रतिपक्षीसँग दूरी बढाएर र संविधान कार्यान्वयनका लागि बाधक बनेका मधेशवादी दलहरुलाई थप चिढाएर ओलीले राजनीतिक वातावरण समेत धूमिल बनाउने काम गरेका टिप्पणी हुन थालेको छ । 

‘जनताले अब पहिलाभन्दा बढी दुःख पाउने भए ।’ एमालेकै एक नेताले भने–‘जे जस्तो भए पनि भारतले स्वागत गर्न तयारी गरिसकेको राष्ट्रपतिको भ्रमण चाहि रोक्नु हुन्न थियो ।’ ती नेताका अनुसार बैगुनीलाई गुनलाई मार्नुपर्छ भन्ने आदर्श ओलीले भूलेका कारण देश नै संकटमा फस्नसक्ने अवस्था सिर्जना भएको छ । ‘स्वाभिमानको ठूलो फूर्ति लगाएर के गर्नु ? आफ्नो धरातले पनि त हेर्नुपर्यो नि हामीले ।’ ती नेताले भने–‘आफू बलियो नभई अरुसँग निहुँ खोज्नु गलत छ । आफू बलियो भएपछि चाहि जे पनि गर्न सकिन्छ ।’