काठमाण्डौ । शीतल निवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा अर्कै रह्यो– निम्ता मान्न पूर्व राजा शीतल निवास आउलान् कि नआउलान् ? राष्ट्रपति कार्यालयको कोसी हलमा विवाहित जोडीलाई बधाई र शुभकामना कार्यक्रम भइरहँदा सोमबार धेरैको चासो ढोका बाहिरै थियो। 

धेरैजसो पाहुना तथा सहभागी एकआपसमा जिज्ञासा राख्थे, ‘पूर्वराजा कति बजे आउँछन्?’ राष्ट्रपति कार्यालयका कर्मचारी पनि भन्दै थिए, ‘उहाँ आउने कार्यक्रम छ।’ लामो समय राष्ट्रप्रमुख भएका पूर्वराजा ज्ञानेन्द्र धेरैको उत्सुकतालाई चिर्दै सोमबार मध्यान्ह साधारण निम्तालुसरह शीतल निवास प्रवेश गरेर वरबधुलाई बधाई दिए। त्यसपछिका २० मिनेट पूर्वराजा नै त्यहाँका प्रमुख आकर्षण बनिरहे। 

उपस्थित धेरैले मोबाइलबाट उनको तस्वीर खिचे। मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा राष्ट्रपति कार्यालय पुगेका पूर्वराजा गाडीबाट ओर्लिएर सीधै कोसीहल प्रवेश गरे। त्यसबेला राष्ट्रपति भण्डारी विवाहित जोडीसँगै बधाई र शुभकामना ग्रहण गर्न व्यस्त थिइन। पूर्वराजाले वरबधुलाई बधाइ र शुभकामना दिए। त्यसपछि भण्डारी सामून्ने पुगे। दुबैले एकअर्कालाई नमस्कार गरे। ज्ञानेन्द्रले राष्ट्रपतिलाई पनि बधाइ दिए। जवाफमा उनले ‘धन्यवाद’ भनिन्। 

यत्तिकैमा सकियो बधाइ कार्यक्रम। राष्ट्रपतिले पूर्वराजालाई दिवाभोजमा सरिक हुन हातले इसारा गरिन्। उनको सचिवालयका सहयोगीले दिवाभोजतर्फ लिएर गए। राष्ट्रपति कार्यालयको पछाडिपट्टिको बगैंचामा दिवाभोजको व्यवस्था थियो।

पूर्वराजा बगैंचातर्फ निस्कनासाथ एउटै टेबुलमा देखिए राप्रपा अध्यक्ष कमल थापा, उक्त पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र नेता लोकेन्द्रबहादुर चन्द। पूर्वराजालाई देख्नेबित्तिकै उनीहरू जुरुक्क उठे र एकसाथ नमस्कार गरे। पूर्वराजा हँसिलो मुद्रामा उनीहरूसँगै एउटै टेबुलमा बसे। अनि सुरु भयो भलाकुसारी। आगन्तुकका लागि सिट वर्गीकृत नगरिए पनि कुर्सी सजाइएको बरण्डा अति विशिष्ट र बगैँचामा राखिएका कुर्सीहरू आम आगन्तुकका लागि प्रयोग भइरहेका थिए। 

सायद पूर्वराजासँग टाढिनैका लागि अति विशिष्ट श्रेणीमा पर्ने भए पनि राजालाई दाम चढाएर आलोचित बन्दै आएका एमाले नेता माधवकुमार नेपालले बगैँचामै बस्न रुचाए। समारोहमा उपस्थित सिविल ड्रेसमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्ना पूर्व परमाधिपतिलाई ससम्मान स्यालुट चढाए। 

बसाइका क्रममा पूर्वराजाले एक कप चिया खाएका थिए। उनले भोजन भने गरेनन्। अन्त्यमा हँसिलो मुद्रामा उठेर सबैलाई नमस्कार गर्दै अगाडि बढेपछि नजिकैको कुर्सीमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीले उठेर प्रत्युत्तरमा नमस्कार गरिन्। 

शनिबार बेलुकामात्र राष्ट्रपतिको छोरीको बिहेमा निम्ता पाएका पूर्वराजाका तर्फबाट उनी बरबधुलाई आशिर्वाद दिन आउने सूचना आइतबार नै पठाइएको थियो। यद्यपि सर्वसाधारणमाझ आइतबारसम्म उनी शीतलनिवास आउलान् कि नआउलान् भन्ने अड्कलबाजी थियो भने सोमबार उनी पुगिसकेपछि भने सामाजिक सञ्जालमा त्यसबारे प्रसस्त राजनीतिक टिकाटिप्पणी देखिए। 

कसैले पूर्वराजा शीतलनिवास जानुलाई उनले गणतन्त्र नेपालको उच्चतम ओहदामा आसीन व्यक्तिको निवासमा पुगेर गणतन्त्रलाई स्वीकार गरेको बताए भने केहीले ज्ञानेन्द्रलाई निमन्त्रणा गरेर राष्ट्रपति भण्डारीले निषेध, बहिष्कार र प्रतिशोधको राजनीतिमा तघारो हाल्ने साहस गरेको बताए। राष्ट्रपति भण्डारीसँग नजिक मानिने केपी ओलीको अनुमोदनबिना पूर्वराजालाई शीतलनिवासमा निम्ता गरिएको थिएन भन्नेहरू पनि धेरै छन्। 

तर, पूर्वराजा शीतलनिवास पुगेका बेला ओली त्यहाँ उपस्थित थिएनन्।' निमन्त्रणापत्रमा वरवधुलाई आर्शिवाद दिन नगद वा जिन्सी केही पनि नल्याउनू भनिए पनि पूर्वराजाले आफ्नो परम्पराअनुसार आशिर्वादस्वरूप वधुलाई खाम दिएका थिए। 

शीतलनिवास त्यही ठाउँ हो जहाँ ४७ वर्षअघि ज्ञानेन्द्र बेहुलाका रूपमा प्रवेश गरी कोमललाई अन्माएर लगेका थिए। यो भवन कुनै बेला चन्द्रशमशेरका छोरा कृष्णशमशेरको दरबार थियो। ज्ञानेन्द्रले राप्रपा नेताहरूसँगको भलाकुसारीका क्रममा आफूले ४७ वर्षअघि कोमललाई अन्माएर यही घरबाट लगेको बताए। 

राप्रपा नेता राणाले ‘यत्रो वर्ष पो भइसक्यो !' भन्दै जिज्ञासा राख्दा ज्ञानेन्द्रले स्वीकृतिमा टाउको हल्लाए। २० मिनेट शीतलनिवास बसेका उनी मध्याह्न १२ बजेर ५५ मिनेटमा बाहिरिए। हँसिलो मुद्रामा शीतलनिवासबाट बा ४ च ३८०७ नम्बरको गाडीमा उनी निस्किएका थिए। यो खबर आजको अन्नपूर्णपोष्टमा छापिएको छ ।