काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी माघको पहिलो सातादेखि १.५८ अर्ब रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

निर्माणाधीन ४५६ मेगावाट क्षमताको यो जलविद्युत आयोजनाले एकसय रुपैयाँ अंकित दरका कुल १ करोड ५८ लाख बढी कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो । 

यो कम्पनीका अनुसार कुल १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि निश्कासन हुनेछ । 

यो आयोजनाले कुल सेयरको १५ प्रतिशत सर्वसाधारणका लागि र १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका लागि आइपीओ जारी गर्नेछ । यसरी आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि समेत १ अर्ब ५ करोड बढीको आइपीओ जारी गरिने कम्पनीका एक अधिकारीले जानकारी दिए ।

यो आयोजना निर्माणको काम हालसम्म ९२ प्रतिशत सकिइसकेको बताइएको छ । आगामी असारबाट आयोजनाको पहिलो युनिटले विद्युत उत्पादनको काम थाल्ने बताइएको छ ।