काठमाण्डौ । हाल अस्तित्वमा रहेका ११ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । 

उनीहरुले सार्वजनिक गरेका अपरिस्कृत वित्तीय विवरणका आधारमा नाफातर्फको प्रगतिको विश्लेषण यसअघिको अंकमै गरिसकिएको छ । खूद नाफातर्फ ११ बैंकमध्ये कसको प्रगति कस्तो रह्यो, पढ्नलाई यहाँ क्लिक गर्नुहोस् । 

खूद नाफा बाहेकका वित्तीय सूचकहरु समेत बैंकको बित्तीय स्वास्थ्य राम्रो बनाउन महत्वपूर्ण मानिन्छ । बैंक बित्तीय रुपमा कति स्वस्थ छ भन्ने बिषय जाँच गर्नका लागि उनीहरुका केही महत्वपूर्ण सूचकमा आँखा लगाए पुग्छ । 

यही क्रममा लगानीकर्ताले नजरअन्दाज गर्नै नहुने केही बित्तीय सूचकहरुमा कुन बैंकको अवस्था के रह्यो भन्ने बिषय यहाँ प्रस्तुत गर्न खोजेका छौ । 

निक्षेप
बैंकका लागि निक्षेप मुटुजस्तै हो । बैंकहरुले निक्षेप जति संकलन गर्न सक्यो, उति कर्जाको मागलाई धान्न सक्छ । जति बढ्यो कर्जा बिस्तार गर्न सक्यो, उति बैंकको नाफा बढी हुन्छ र बित्तीय रुपमा बैंक स्वस्थ हुन्छ । 

आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ११ विकास बैंकमध्ये सबैभन्दा लोभलाग्दो निक्षेप मुक्तिनाथ विकास बैंकले संकलन गरेको छ । यो अवधिमा मुक्तिनाथले ३० अर्ब बढी निक्षेप संकलन गरेको छ । निक्षेप संकलनको हिसाबले दोश्रो स्थानमा महालक्ष्मी विकास बैंक छ, जसले समीक्षा अवधिमा २७ अर्ब बढी निक्षेप संकलन गरेको छ । गण्डकी विकास बैंकले २३ अर्ब बढी निक्षेप संकलन गरी तेश्रो स्थान प्राप्त गरेको छ । 

निक्षेपतर्फ प्रगतिको हिसाबले चाहि कामना सेवा विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । उसले गत वर्षको तुलनामा निक्षेप परिचालनमा १२५.५५ प्रतिशतको फड्को मारेको छ । ज्योति विकास बैंकले ८५.८९ प्रतिशतको फड्को मारेको छ भने मुक्तिनाथ विकास बैंक निक्षेपतर्फको वृद्धिमा ८१ प्रतिशतको प्रगतिसहित तेश्रो स्थानमा छ । अन्यको अवस्था यो टेबलबाट हेरौं:

कर्जा प्रवाह
निक्षेप संकलन गरेर मात्र हुँदैन, कर्जा प्रवाहको अवस्थाले समेत बित्तीय संस्थाको स्वास्थ्य बुझ्न सकिन्छ । निक्षेपतर्फ जस्तै कर्जा परिचालनमा समेत मुक्तिनाथ विकास बैंक नै माथि छ । उसले २५ अर्र्ब बढी कर्जा परिचालन गरेको छ । २१ अर्ब ६५ करोड कर्जा परिचालन गरी महालक्ष्मी दोश्रो र २० अर्ब १२ करोड कर्जा परिचालन गरी कैलाश विकास बैंक तेश्रो स्थानमा छ ।

कर्जातर्फको वृद्धिको हिसाबले कामना सेवा विकास बैंकले ११९.९२ प्रतिशतको फड्को मारेको छ । ७६.१९ प्रतिशत फड्को मारी ज्योति दोश्रो र ६४.९२ प्रतिशतको फड्को मारी मुक्तिनाथ तेश्रो स्थानमा छन् । ऋणतर्फ कसको कस्तो प्रगति भयो, टेबल हेरौं:

खूद ब्याज आम्दानी
कम ब्याज खर्च र बढी ब्याज आम्दानी गर्नसक्ने बित्तीय संस्थाले मात्र राम्रो नाफा कमाउन सक्छ । जसको बढी खूद ब्याज आम्दानी भयो, उसको अवस्था उत्तिकै मजबुत हुन्छ । कतिपयले ब्याज आम्दानी राम्रै आर्जन गरे पनि अत्यधिक ब्याज खर्चका कारण खूद ब्याज आम्दानी भने अपेक्षित गर्न नसकेका देखिएको छ । यसरी ब्याज आम्दानीको हिसाबले समेत हामीले ११ बैंकको अवस्था बुझ्ने कोशिश गरेका छौ । 

खूद ब्याज आम्दानीतर्फ पनि मुक्तिनाथ विकास बैंक नै अगाडि छ । उसले समीक्षा अवधिमा १ अर्ब २५ करोड खूद ब्याज आम्दानी गरेको छ । १ अर्ब ७ करोड खूद ब्याज आम्दानी आर्जन गरी महालक्ष्मी विकास बैंक दोश्रो र १ अर्ब ४ करोड आर्जन गरी गण्डकी विकास बैंक तेश्रो स्थानमा देखिएको छ । 

प्रगतिको हिसाबले भने खूद ब्याज आम्दानीतर्फ कामना सेवा विकास बैंक अगाडि छ । उसले गत वर्षको तुलनामा खूद ब्याज आम्दानीलाई ८३.९३ प्रतिशतले बढाएको छ । ज्योति विकास बैंकले ४९.३३ प्रतिशतले वृद्धि गरी दोश्रो स्थान र महालक्ष्मी विकास बैंकले ३७.८९ प्रतिशतको प्रगति गर्दै तेश्रो स्थान कब्जा गरेको छ । अन्यको अवस्था यो टेबलबाट हेरौंः

इपीएस, पीई र नेटवर्थ
मूल्य आम्दानी अनुपात जति थोरै भयो, लगानीका लागि त्यति राम्रो मानिन्छ । विकास बैंकहरुले आफूले जुन मितिमा वित्तीय विवरण प्रकाशन गरे, त्यसैलाई आधार मानेर मूल्य आम्दानी अनुपात(पीई) निकालेका छन् । सो आधारमा लुम्बिनी विकास बैंकको पीई सबैभन्दा कम ७.७४ गुणा रहेको छ ।

यस्तै, महालक्ष्मी विकास बैंकको ८.५९ र कैलाश विकास बैंकको पीई ९.९८ गुणा रहेको छ । 

सेयर लगानीकर्ताहरुको सर्वाधिक चासो हुने प्रतिसेयर आम्दानी(इपीएस)मा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि छ । उसले २२ रुपैयाँ २० पैसा प्रतिसेयर आम्दानी गरेको छ । दोश्रो स्थानमा कैलाश विकास बैंक रहेको छ, जसको इपीएस २१.९५ रुपैयाँ र तेश्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकको २१.३१ रुपैयाँ रहेको छ । 

प्रतिसेयर नेटवर्थमा भने महालक्ष्मी विकास बैंक सबैभन्दा तगडा देखिएको छ । उसको प्रतिसेयर नेटवर्थ १५४.३ रुपैयाँ रहेको छ । १५२.८५ रुपैयाँ सहित लुम्बिनी विकास बैंक दोश्रो र १४३.३६ रुपैयाँसहित कैलाश विकास बैंक तेश्रो स्थानमा देखिएका छन् । 

११ विकास बैंकको पीई, इपीएस र प्रतिसेयर नेटवर्थ सबै जानकारीका लागि यो टेबल हेरौं:

रिजर्ब
बित्तीय संस्थाको बित्तीय स्वास्थ्य मापनको अर्को एउटा कडी रिजर्ब पनि हो । रिजर्ब धेरै भएको कम्पनीमा जोखिम कम हुन्छ । यस हिसाबले सबैभन्दा लोभलाग्दो रिजर्ब महालक्ष्मी विकास बैंकको छ । उसले रिजर्बको आकारलाई बढाएर १ अर्ब ४३ करोडको उचाईमा पुर्याइसकेको छ । १ अर्ब १५ करोड रिजर्बसहित लुम्बिनी विकास बैंक दोश्रो र १ अर्ब ९ करोडसहित कैलाश विकास बैंक तेश्रो स्थानमा छ । अन्यको रिजर्ब यो टेबलबाट हेरौं:

निश्कर्ष
राष्ट्रिय स्तरका विकास बैंकहरुको ८ वटा मुख्य सूचकहरुको तुलनात्मक अध्ययन गर्दा धेरै सूचकमा नम्बर वान बनी मुक्तिनाथ विकास बैंक यो वर्षकै उत्कृष्ट र मजबुत बन्न सफल भएको छ । मुक्तिनाथ बैंक ५ वटा सूचकमा पहिलो नम्बरमा छ । 

यस्तै, मुक्तिनाथलाई पछ्याइरहेको महालक्ष्मी विकास बैंक २ वटा सूचकमा पहिलो स्थानमा, ५ वटा सूचकमा दोश्रो स्थान र एउटा सूचकमा तेश्रो स्थानमा छ । 

कैलाश विकास बैंक कुनै पनि सूचकमा पहिलो स्थानमा आउन सकेन । यो बैंक एउटा सूचकमा पहिलो नम्बरमा र बााकी ५ सूचकमा तेश्रो नम्बरमा छ । 

एउटा सूचकमा पहिलो नम्बरमा रही लुम्बिनी विकास बैंक अगाडि बढेको देखिएको छ । यो बैंक २ वटा सूचकमा पनि दोश्रो स्थानमा छ । 

गण्डकी विकास बैंक २ वटा सूचकमा तेश्रो मात्र आएको छ ।