काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडले ५ वटा आर्थिक वर्षका लागि एकैपटक आज(शुक्रबार) आह्वान गरेको वार्षिक साधारणसभामा बबण्डर मच्चिएको छ । 

कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ सम्म कुल ५ वर्षको साधारणसभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग क्याटरर्स प्रालिमा आज १ बजे आह्वान गरेको थियो । 

लामो समयदेखि साधारणसभा नगरेको र लगानीकर्तालाई लाभांशको लोभ देखाई हिस्स पारेपछि आक्रोशित सेयरधनीले साधारणसभामा बबण्डर मच्चाएका हुन् । 

संचालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले तीसौं वार्षिक साधारणसभाको प्रतिवेदन पढेर सिध्याएपछि सेयरधनीहरुले बोल्ने क्रम सुरु भएको थियो । आफ्नो कुरा राख्ने क्रममा पहिलो वक्ता सेयरधनीको कुरा संयमतापूर्वक सुनेका सहभागीले दोश्रो वक्ता सेयरधनीसँगै साधारणसभा स्थगनको नारा घन्काएका थिए । 

साधारणसभामा सहभागी संचालक समितिका अध्यक्ष, संचालकहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले सेयरधनीहरुलाई आफ्ना कुरा क्रमैसँग राख्न र सबैको कुरा सुनेर जवाफ दिने बताएका थिए । कर्मकाण्डी शैलीको प्रतिक्रिया सुनेपछि सेयरधनी निकै आक्रोशित बनेका थिए । 

सो क्रममा साधारणसभामा सहभागी अधिकांश सेयरधनीले उठेर हुटिङ गर्दै संचालकविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले बाँकी आर्थिक वर्षहरुको साधारणसभाको मितिको बिषयमा लिखित प्रतिबद्धता व्यक्त नगरेसम्म र १२० प्रतिशत लाभांश पाउने निश्चितता नगरेसम्म साधारणसभा चल्न नदिने बताएका थिए । 

सो क्रममा आक्रोशित सेयरधनीहरु मञ्च अगाडि आएर नाराबाजी गर्दै र टेबल ठोक्दै संंचालकको कार्यशैलीको कडा विरोध गरेका थिए । नाराबाजीका बीच आक्रोशित सेयरधनीमध्ये केहीले साधारणसभाको वार्षिक प्रतिवेदन पुस्तक र पानीका बोतलले संचालकहरुमाथि प्रहार गरेका थिए । 

अवस्था असामान्य बनेपछि सुरक्षाकर्मी परिचालन गर्नु परेको थियो । 

सुरक्षाकर्मी परिचालन गरेर समेत सेयरधनीको आक्रोश शान्त नभएपछि संचालक समितिका अध्यक्षले आर्थिक वर्ष २०६७/६८ पछिका सबै साधारणसभा ६ महिनाभित्र गर्ने प्रतिबद्धता जनाएका थिए । त्यतिले मात्र शान्त नभएका सेयरधनीलाई पब्लिक डाइरेक्टर अशोककुमार उप्रेतीले १२० प्रतिशत लाभांश पनि आउने र त्यसमा थप लाभांश समेत दिने कुरा भइरहेको सूचना दिएपछि आक्रोशित समूह केही मत्थर देखिएको थियो । 

सेयरधनीहरुले संचालकहरु भत्तामुखी र कमिसनखोर भएका, सेयरधनीको हित भन्दा आफ्नो मात्र हित हेर्ने गरेका र संचालककै रबैयाका कारण १७ हजार रुपैयाँ मूल्यको सेयर घटेर ८ हजारमा झरिसकेको भन्दै आक्रोश पोखेका थिए । कतिपय सेयरधनीहरुले घरजग्गा बेचेर कम्पनीको सेयरमा लगानी गरेको र संचालकको गलत प्रवृतिका कारण आफूहरुलाई डूबाउने काम भएको समेत गुनासो गरेका थिए । 

यो समाचार तयार पार्दासम्म सेयरधनी र संचालकबीच सहमतिको प्रयास भइरहेको छ । सेयरधनीले लाभांश र बाँकी आर्थिक वर्षका साधारणसभा आयोजनाको बिषयमा लिखित सहमतिको कुरा उठाइरहेका छन् । 

बबण्डरको भिडियो हेर्र्नुहोस्: