काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ क्षेत्रमा करिअर बनाउन चाहने युवाहरुलाई लक्षित गरी आरबीबी इम्पावरमेन्ट अकाडेमीको सुरुवात गरेको छ । 

बैंकले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी यो विषयमा जानकारी दिएको हो । 

फाइनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले बैंकले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत अकाडेमीको सुरुवात गरेको हो । 

यो अकाडेमीले कात्तिक १ गते(भोलि)बाट नै निःशुल्क आवेदन दिनसक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबियरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा संचालन गर्ने जनाएको छ । 

पहिलो चरणको तालिम प्रदेश नम्बर ३ अन्तर्गत स्नातक र स्नातकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरुलाई लक्षित गरी संचालन हुनेछ । वित्तीय क्षेत्रमा करिअर बनाउन चाहने युवा विद्यार्थीहरुले यो तालिमबाट भरपूर लाभ लिनसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुबाट निःशुल्क रुपमा दिइने यो तालिमको पहिलो चरण बैंकको दरबारमार्गस्थित तालिम केन्द्रमा आगामी २२, २३ र २४ गते आयोजना हुनेछ । 

वित्तीय क्षेत्रमा करिअर बनाउन ठूलै जमात लालायित रहेकोले रोजगारउन्मुख तालिमहरुले युवाहरुको वृतिविकासमा धेरै सहयोग पुग्ने सीइओ श्रेष्ठको दाबी छ । 

उनले यस्तो तालिम सुरुवात गर्ने देशकै पहिलो बैंक बनेकोमा खुशी समेत व्यक्त गरेका थिए । 

नेपालमै पहिलोपटक बैंकले निःशुल्क रुपमा आयोजना गर्ने यो तालिम निकट भविष्यमा अन्य प्रदेशहरुमा पनि संचालन गरिने उनले जानकारी दिए । 

इच्छुक युवाहरुले बैंकको अफिसियल वेबसाइटमा गएर तालिमका लागि आफूलाई दर्ता गराउन सक्नेछन् । 

यो तालिमका लागि २८ वर्ष उमेर नकटेको हुनुपर्ने र सम्बन्धित विषयमा ५० प्रतिशत वा सोही बराबरको अंक ल्याएको हुनुपर्नेछ ।