काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले निष्कासन गर्न अनुमति मागेको हकप्रद सेयरलाई अस्वीकृत गरेको छ।

हाल शाइन रेसुंगाको चुक्तापुँजी ३ अर्ब १ करोड रुपैयाँ रहेको छ। शाइन रेसुंगाले चुक्तापुँजीको ४ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको थियो। तर नेपाल राष्ट्र बैंकले पुँजी पुगेका कम्पनीहरुलाई हकप्रद निष्कासनमा रोक लगाएकै कारण शाइन रेसुंगाको अस्वीकृत भएको बताइएको छ। 

शाइन रेसुंगाका सीईओ प्रकाश पौड्यालले राष्ट्र बैंकले हकप्रद निष्कासन अनुमति नदिएको स्वीकारे। ‘राष्ट्रियस्तरको विकास बैंक भइसकेका कारण थप पुँजी वृद्धि गर्न हकप्रद निष्कासन गर्न अनुमति मागेका थियौँ’, उनले भने, ‘तर पुँजी पुगेको भन्दै राष्ट्रबैंक हकप्रदलाई अनुमति दिएन।’

सीईओ पौड्यालका अनुसार शाइन रेसुंगाले १५ प्रतिशत बोनस सेयर जारीको प्रस्ताव भने राष्ट्र बैंकले स्वीकृत गरेको छ।