काठमाण्डौ । निजी व्यवसायीले आफूहरुले पनि रासायनिक मलको कारोबार गर्न पाउनुपर्ने माग गरेका छन् ।

हाल सरकारले सहकारी संस्थाबाट वितरण गदै आएको रासायनिक मललाई निजी व्यवसायीले पनि बेच्न पाउनुपर्ने उनीहरुले माग गरेका हुन् ।

मलखाद व्यवसायी संघ नेपालको राजधानीमा भएको महाधिवेशमा व्यवसायीले सहकारी सरह निजी व्यवसायीले पनि मल बेच्न पाउने व्यवस्था हुनुपर्ने बताएका हुन् । कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले रासायनिक मल आयात गरी सहकारीमार्फत किसानलाई वितरण गदै आएका छन् ।

महाधिवेशनको उद्घाटन गदै कृषि विकास मन्त्री रामकृष्ण यादवले कृषि उत्पादन बढाउन गोठे प्राङ्गगारिकसँगै रासायनिक मलको अति आवश्यक रहेको बताए । “मुलुकमा सात लाख २३ हजार मेट्रिक टन रासायनिक मलको आवश्यक रहे पनि सरकारी तवरबाट साढे तीन लाख मेट्रिक टन मलमा अनुदान दिइएको छ।’ कृषि मन्त्री यादवले भने–‘मुलुकमा रासायनिक मलखादको कारखाना नहुँदा वर्षेनी अरबौ रुपैयाँ बाहिरिएको छ ।’ मुलुकमै रासायनिक मल उत्पादनका लागि  मल कारखाना बनाउने काम भइरहेको भन्दै मन्त्री यादवले  मुलुकमा मागको ६० प्रतिशत मल सरकारी र बाँकी गैरकानुनी तवरबाट आयात भइरहेको बताए । कृषि र मलखाद एक अर्काेको परिपुरक भएकाले पनि उत्पादन बढाउन मलखाद आवश्यक पर्ने भन्दै मन्त्री यादवले यसको बिस्तारका लागि लागिरहेको बताए  ।

कृषि मन्त्रालयका सहसचिव डा. योगेन्द्र कार्कीले खाद्यान्न उत्पादन बढाउन सिचाई, उन्नत बीउ, प्रविधिसँगै मलखादको पनि अति आवश्यक रहेको बताए । खाद्यान्न  उत्पादन भए मात्र ग्रामीण अर्थतन्त्र सुधार हुनसक्ने भन्दै उनले  यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।  

सरकारले  वर्षेनी डिएपी, पोटास र युरियामा पाँच अर्ब रुपैयाँ अनुदान दिए पनि अझै किसानसमक्ष पुग्न सकेको छैन ।

मलखाद व्यवसायी संघ नेपालका अध्यक्ष चन्द्रकान्त डल्लाकोटीले  सरकारले निजी व्यवसायीलाई पनि रासायनिक मलको बिक्री गर्न पाउनुपर्ने बताए ।  कृषिलाई चाहिने १६ तत्वमध्ये युरिया, डिएपी र पोटास सरकारले अनुदान दिए पनि बाँकी तत्वहरु निजी व्यवसायीले बिक्री गरिरहेकाले  निजी क्षेत्रलाई पनि रासायनिक मल बिक्री खुला गर्नुपर्ने उनको भनाई छ । 

सरकारले सहकारीमार्फत बिक्री गरेको रासायनिक मल १० प्रतिशतसम्म पुगेको र बाँकी खुला सीमानाकामार्फत गैरकानुनी ढंगबाट आयात भइरहकाले त्यसलाई व्यवस्थित गर्न निजी क्षेत्रलाई बिक्री खुला गर्नुपर्ने उनको भनाई छ ।  संघले  विषाधी, बीउविजन, भेटेनरीसँगै मल व्यवसाय गर्दै आएको छ ।  देशैभरका व्यवसायीहरुको संस्थाले किसानलाई प्राविधिक सेवा समेत विस्तार गर्दै आएको छ ।  निजी क्षेत्रलाई बिक्री खुला गरे प्रतिस्पर्धाबाट किसानलाई सुपथ र सहज ढंगले मलको वितरण गर्ने महासंघको भनाई छ ।

संघका सदस्य एंव व्यवसायी ईश्वरराज अर्यालले २० वर्ष देखि  प्राविधिक रुपमा काम गर्दै आएकाले पनि सरकारले निजी क्षेत्रलाई मल बिक्री गर्न दिनुपर्नेमा जोड दिए । सहकारी संस्थाले सिजनमा मात्र मल राख्ने, तर बीउविजन र प्राविधिक सेवा पाउन किसानलाई कठिन रहेको भन्दै उनले निजी व्यवसायीले मलसँगै प्राविधिक सेवा सर्वसुलभ ढंगबाट विस्तार गदै जाने बताए । 

एक दिने महाधिवेशमा मुलुकभरका पाँच सय भन्दा बढी मलखाद व्यवसायीहरुको सहभागिता छ।