काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको खूद नाफा बढेको छ । खराब कर्जा र बित्तीय अनुशासनहीनता रहेका विकास बैंकहरुलाई गाभेर अगाडि बढेको एनसीसी बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख  खूद नाफा आर्जन गरेको हो । 

अघिल्लो वर्ष यही अवधिमा एनसीसी बैंकले १२ करोड ९० लाख नाफा कमाएको थियो । 

एपेक्स डेभलपमेन्टमा थुप्रिएको खराब कर्जाका कारण एनसीसी बैंकमा पहिलो त्रैमासमा यस्तो कर्जाको थुप्रो लागेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खराब कर्जा ०.९६ प्रतिशत रहेकोमा यो वर्ष बढेर ४.२९ प्रतिशतको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा ब्याज खर्चमा भएको अचाक्ली वृद्धिले एनसीसी बैंकको खूद ब्याज आम्दानी घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २४ करोड २४ लाख रहेको यस्तो आम्दानी घटेर समीक्षा अवधिमा २१ करोड २९ लाखमा सीमित बन्न पुुगेको हो । 

यो अवधिमा एनसीसी बैंकको निक्षेप, कर्जा र जगेडाकोषमा उल्लेख्य वृद्धि भएको छ । ६१ अर्ब ३८ करोड निक्षेप संकलन गरी ४८ अर्ब ८७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३० अर्ब ६३ करोड निक्षेप संकलन गरी २५ अर्ब ३४ करोड कर्जा परिचालन गरेको थियो।

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५३ करोड रुपैयाँ रहेको रिजर्ब बढेर २ अर्ब ७२ करोडको उचाईमा पुुगेको छ । 

एनसीसी बैंकको संचालन मुनाफामा भने पहिरो गएको देखिएको छ । अघिल्लो वर्ष १७ करोड रहेको यस्तो मुनाफा घटेर १ करोड २५ लाखमा सीमित बन्न पुुगेको हो । 

बढेको पूँजी अनुसार व्यवसाय बिस्तार गरी नाफा कमाउन नसक्दा यो बैंकको प्रतिसेयर आम्दानीमा पनि पहिरो गएको छ । अघिल्लो वर्ष २२ रुपैयाँको हाराहारीमा रहेको यस्तो आम्दानी घटेर यो वर्ष १४ रुपैयाँ ७ पैसामा सीमित बन्न पुुगेको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात २७.२२ गुणा कायम भएको छ । 

खराब अवस्थाका संस्थालाई गाभेर अनेक मुद्धामामिला र झमेलाको सामना गर्दै अगाडि बढेको बैंकले पहिलो त्रैमासमा व्यवसाय बिस्तारमा ध्यान दिन नसकेको देखिन्छ । खराब कर्जा उठाउनमै बढी समय व्यतित हुँदा यस्तो अवस्था आएको बैंकका एक अधिकारीले जानकारी दिएका छन् । यो बैंकले व्यवसाय बिस्तार गरी नाफा बढाउने कार्यमा ध्यान दिने अवस्था आउन अझै केही समय लाग्ने देखिन्छ ।