काठमाण्डौ। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ४८.४५ प्रतिशतले बढाउन सफल भएको छ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०७५/७६ को यही अवधिसम्म कम्पनीले २ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीले खुद बीमाशुल्कबापत १ अर्ब ३६ करोड रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको यही अवधिसम्मको तुलनामा ८७.२४ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ७३ करोड ११ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो। 

कम्पनीको ५ करोड ४२ लाख रुपैयाँमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यस अवधिसम्म कम्पनीले ६ करोड १६ लाख रुपैयाँको दाबीभुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ११ लाख २२ हजार रुपैयाँको मात्र दाबीभुक्तानी गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च ७ करोड ८० लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यो खर्च ११ करोड ८६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ। महाविपत्ति कोष जगेडामा भने १ करोड ५९ लाख रुपैयाँ र जगेडा तथा कोषमा १ करोड ४३ लाख रुपैयाँ जम्मा भएको छ। 

कम्पनीले यो अवधिसम्म १७ हजार ८८९ बीमालेख जारी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १५ हजार ६०२ बीमालेख जारी गरेको थियो।