काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिएको सदर आवेदकमध्ये २० हजार ५०९ जनाको हात खालि भएको छ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँड गरेको हो । जसमध्ये २० हजार ५०९ जनाले सेयर नपाएका हुन् ।

आइपीओ बाँडफाँड गरे पनि यसको रिजल्ट भने प्रकाशित गरिएको छैन । यसकारण आइपीओमा आवेदन दिएकाहरुमा रिजल्टको व्यग्र प्रतिक्षा देखिएको छ । 

कतिबेलासम्म आइपुग्छ त रिलायन्सको आइपीओ रिजल्ट ? सानिमा क्यापिटलका मर्चेन्ट बैंकिंग एनलिस्ट रामप्रसाद भट्टराईले आइपीओको रिजल्ट आउन अझै ३-४ घण्टा लाग्ने बताए । 

'डेटा धेरै भएका कारण मिलाउन समय लाग्नेछ । बाँडफाँड भएको ३ ४ घण्टाभित्रमा मात्र हामी रिजल्ट उपलब्ध गराउन सक्छौ ।'-भट्टराईले बिजशालासँग भने ।  

रिलायन्सको आइपीओमा ५ लाख ८७ हजार ५०९ जनाले दिएको आवेदन सदर भएको छ । सदर आवेदनमध्ये ५ लाख ६७ हजारले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी २० हजार ५०९ ले सेयर नपाएका हुन् । 

यो आइपीओ खरीदका लागि आवेदन दिएका १ हजार ९५५ जनाको आवेदन विविध कारणले रद्ध भएको छ । 

रिलायन्सले ५६ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा ५ लाख ८९ हजार ४६४ जना आवेदकले २ करोड २९ लाख २६ हजार १० कित्ताका लागि आवेदन दिएका थिए।

रिलायन्सको आइपीओ भदौ ४ गते निश्कासन भई ८ गते बन्द भएको थियो । यो कम्पनीको आइपीओमा मागभन्दा ४.०४ गुणा बढी आवेदन परेको थियो ।