काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएका छन्।

दुवै कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन्। 

रिलायन्सले हाल कायम जारीपुँजीको ३० प्रतिशतले हुन आउने ६३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। यो कम्पनीले रु १०० अंकित ६३ लाख कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको हो। 

यो कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। इक्राले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउने इक्राएनपी आईपीओ ग्रेड ४ प्रदान गरेको हो। 

यो कम्पनीको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ।

यसैगरी सानिमा जनरल इन्स्योरेन्सले जारी पुँजी १ अर्बको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। कम्पनीले रु. १०० अंकित ३० लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको हो। 

हाल कम्पनीको चुक्तापुँजी ७० करोड रहेको छ। आईपीओ बिक्री पनि यो कम्पनीको चुक्तापुँजी १ अर्ब पुग्नेछ। 

आईपीओ निष्कासन तथा बिक्रीका लागि रिलायन्सले सानिमा क्यापिटल र सानिमाले एनआईसी एसिया क्यापिटललाई प्रबन्धक नियुक्त गरेका छन्।