काठमाण्डौ । पछिल्लो समय नवीन प्रडक्ट ल्याएर पृथक पहिचान बनाएको रिलायन्स लाइफ इन्स्योरेन्सले रु. ६३ करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. ६३ करोड बराबरको आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । 

यसका लागि रिलायन्स लाइफ इन्स्योरेन्सले आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । यो सम्बन्धमा दुई कम्पनीबीच एक सम्झौता सम्पन्न भएको हो । 

सम्झौतामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणण्रमण पराजुली र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । 

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड(“कम्पनी”)ले २०७४ मंसिर १ गतेदेखि विधिवत रुपमा जीवन बिमा व्यवसाय संचालन गर्न थालेको थियो । हालसम्म यो कम्पनीले ८८ वटा शाखा तथा उपशाखा कार्यालयको सञ्जाल विस्तार गरिसकेको छ । 

कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेको छ ।