काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्तिपछि आइतबारदेखि एकीकृत बित्तीय कारोबार थालेको छ । 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार एक समारोहका बीच एकीकृत बित्तीय कारोबारको विधिवत शुुभारम्भ गरे । 

बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामीण स्तरसम्म १७ वटा शाखामार्फत बैंकिङ्ग कारोबार गर्दै आएको र उक्त बैंकको रु.८ अर्व निक्षेप, रु.७ अर्ब कर्जा तथा  रु.१ अर्ब १ करोड चुक्तापूँजी रहेको थियो । 

ग्लोवल आईएमई बैंक लिमीटेडले हालसम्म १० वटा बैंक तथा बित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गरिसकेको छ । 

पछिल्लो समय रिलायवल डेभलपमेन्ट बैंकको प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड पुगेको छ भने रु. कुल निक्षेप ९७.७० अर्ब, कर्जा लगानी रु. ८२ अर्ब, शाखा संख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढी पुुगेको छ । 

२०६३ सालको पुस महिनामा “सबैंका लागि बैंक” भन्ने मूल नाराका साथ स्थापना भएको ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दश बर्षको अवधिमा निजी क्षेत्रका वाणिज्य बैंकहरुको बीचमा पृथक पहिचान बनाएको सो एकीकृत बित्तीय कारोबार संचालन समारोहमा बताइयो ।  सो अवसरमा बैंकका संचालक तथा व्यवस्थापनको नेतृत्व गर्नेहरुले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गरेपछि आगामी दिनमा आफ्ना समस्त ग्राहकहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने बिश्वास एंव प्रतिबद्धता समेत व्यक्त गरे । 

ग्लोबल आईएमई बैंकले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाईनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसंग सफल मर्जर तथा प्राप्ति गरिसकेको छ ।