काठमाण्डौ । महङ्गीको मार झेलिरहेको साउदी अरबका जनताका लागि स्थानीय सरकारले निकै ठूलो राहात दिएको छ । खासमा साउदी अरब सरकारले देशमा पहिलोपटक कर लगाउने लगायतका आर्थिक सुधारका कामहरुबाट आफ्ना नागरिकहरुमा बढेको बोझ कम गराउने उद्देश्यले राहात प्याकेजको घोषणा गरेको हो । अब साउदी सरकारले त्यहाँका प्रत्येक नागरिकलाई औसतमा १ हजार रियाल उपहारको रुपमा दिनेछ ।

कसले कति पैसा पाउँछ ?
यो प्याकेजअन्तर्गत सैन्यकर्मी तथा सरकारी कर्मचारीको जीवनयापन भत्ताको रुपमा १ हजार रियाल राहातको रुपमा प्राप्त हुनेछ । यस्तै, यमनको सीमामा लडिरहेका साउदी सैनिकका लागि ५ हजार रियाल प्राप्त हुनेछ । यस्तै, विद्यार्थीले पाउने भत्तामा समेत १० प्रतिशतले वृद्धि गरिएको छ । यसबाहेक पहिलोपटक घर खरीद गर्ने नागरिकलाई सरकारले ८ लाख ५० हजार रियालसम्मको कर सरकारले नै तिरिदिनेछ । साउदी अरब सरकारले आफ्ना नागरिकहरुको रोजगारी बढाउने प्रयासलाई समेत तीव्र पारेको समाचार एजेन्सीहरुले जनाएका छन् । 

यसकारण राहात
खासमा २०१४ पछि तेलको बजार घटेसँगै राजश्वमा भएको घाटा पूर्ति गर्नका लागि साउदी अरब तथा संयुक्त अरब इमिरेट्स(युएई)ले अधिकांश वस्तु तथा सेवामा भ्याट लगाइदिएका छन् । यसका कारण कैयन वस्तुुहरुको मूल्य समेत बढेको छ । यसका कारण स्थानीय नागरिकहरुमा सरकारप्रति चरम निराशा पैदा भएको छ । यही कुरालाई ध्यानमा राखी रिसाएका नागरिकलाई फकाउन सरकारले राहात प्याकेज घोषणा गरेको हो । 

यसकारण अर्थव्यवस्थामा लाग्यो झट्का
तेलको मूल्यमा भारी गिरावट आएसँगै विश्वकै सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरबको अर्थव्यवस्थामा उथलपुथल भयो । यहीकारण शाही शासनले वस्तुु तथा सेवाको खरीदमा भ्याट लगाइदियो, सब्सिडी कम गरियो भने आम्दानीको वैकल्पिक उपाय समेत खोजी गर्न थालियो । यहीकारण शाही परिवारका सदस्यले मासिक रुपमा पाउने तलबभत्ता तथा सुविधामा समेत कटौति गरिएको थियो ।