काठमाण्डौ । करिब ५०० दिनसम्म आफ्नो लगानी बन्धक बनाउने मेगा बैंकविरुद्ध लगानीकर्ताले आक्रोश पोखेका छन् । लगानीकर्ताको आक्रोश सोमबारको बजारको सुरुवाती चरणमै प्रतिबिम्बित भएको छ । मेगा बैंकको मूल्य कारोबार सुरु भएको ३० मिनेटभित्रै १० प्रतिशतले घटेर सर्किट लागेको हो । 

करिब १७ महिना लामो निलम्बनपछि प्रतिकित्ता ३११ रुपैयाँमा कारोबार सुरु भएको मेगाको मूल्य घटेर २८१ रुपैयाँमा आएपछि सर्किट ब्रेक लागी कारोबार नै स्थगन भएको हो । 

यो क्रममा मेगाले ३०६ रुपैयाँ प्रतिकित्ताको दरले अधिकतम कारोबार गरेको थियो । 

मार्केट डेप्थमा अधिकांश लगानीकर्ताले मेगा बैंकको सेयर बिक्रीमा राखेको देखिएको छ । प्रतिकित्ता २ सय ८१ रुपैयाँमा १ लाख ३२ हजार ३ सय ५४ कित्ता सेयरको १३५ वटा बिक्री आदेश आएको देखिन्छ । यस्तै, २८४ रुपैयाँमा ४ हजार ८४ कित्ता, २८६ मा ६५० कित्ता, २८९ मा १४ कित्ता र २९४ मा ३५६ कित्ताका लागि बिक्री आदेश ब्रोकरले प्राप्त गरेका मार्केट डेप्थमा देखिन्छ । 

मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्तिको क्रममा सम्झौता गरेदेखि सेयर कारोबार रोकिएको थियो । करिब १७ महिनासम्म सेयर कारोबार गर्न रोकिएपछि यो बैंक लगानीकर्ताप्रति संवेदनशील नबनेको भन्दै कडा आलोचना हुँदै आएको छ । बैंकले १७ महिनासम्म लगानीकर्ताको लगानीलाई बन्धक बनाएको भन्दै निकै ठूलो आक्रोश रहेको देखिएको छ । यसकारण समेत मेगाको सेयर मूल्य केही दिनसम्म निरन्तर ओरालो लाग्ने अवस्था रहेको लगानीकर्ता बताउँछन् ।