काठमाण्डौ । बढ्दो लगानीकर्ताको संख्यासँगै स्टक ब्रोकरहरुले रिसोर्स बढाउन आनाकानी गरिरहेका छन् ।

लकडाउनपछि सेयर कारोबार गर्न ब्रोकरबाट अनलाइन युजर आइडी र पासवर्ड लिनेको संख्यासमेत ह्वात्तै बढेको छ । लगानीकर्ताको उल्लेख्य संख्या बढेपछि ब्रोकरको टीएमएसको क्षमता र डेटा सेन्टर(सर्भर) मा अत्यधिक भार पर्ने गरे पनि यसको व्यवस्थापनमा ब्रोकरहरुले चासो दिएका छैनन् । 

यो विषयमा नेप्सेले ब्रोकर हाउसहरुको स्थलगत भ्रमण गरेको थियो । स्रोतका अनुसार नेप्सेले तत्कालै स्टक ब्रोकर नम्बर ३४, ४९ र ५८ लाई रिसोर्स बढाउन निर्देशन नै दिइसकेको अवस्था छ । यी ३ ब्रोकरहाउसका ग्राहक अधिक मात्रामा बढेकोले समेत ब्रोकरको टीएमएसमा असर परिरहेको छ ।

यता, ब्रोकरहरु भने टीएमएसको क्षमता वा नयाँ टीएमएस ल्याउन र डेटा सेन्टर बनाउन आनाकानी गर्ने र सिस्टमलाई नै दोषारोपण गर्दै उम्किने जुक्ति लगाइरहेका छन् । स्रोतका अनुसार ब्रोकरहरुलाई आफ्नै टीएमएस र डेटा सेन्टर बनाउन निर्देशन दिइए तापनि सोर्सकोर्डको बहानाबाजीमा झारा टार्ने काम गरिरहेका छन् । 

हिजो सोमबार मात्रै पनि नेप्से कार्यालयमा नेप्सेका अधिकारी र ब्रोकरहरुको निकै लामो बैठक बसेको र सो बैठक यसमै केन्द्रीत रहेको थियो । 

५० ब्रोकर कम्पनीमध्ये ग्राहकको चापअनुसार १० १२ ब्रोकरले रिसोर्स नबढाउँदा पनि हुन्छ भने ३ ब्रोकरले हालको रिसोर्सलाई दोब्बर बढाउनुपर्ने र बाँकी ब्रोकरले आधा क्षमता बढाउनुपर्ने स्रोतको बताउँछ । 

हाल ब्रोकरले वाइको प्रालिमार्फत रिसोर्सलाई ट्रयालमा प्रयोग गरिरहेका छन्, यो स्थायी होइन । अस्थायी रुपमा बढाइएको रिसोर्सले हाल टीएमएसमा समस्या छैन । उसो त ब्रोकर आफैंले लाइसेन्स लिएर पनि डेटा बेसको कोर बढाउन सक्दछन् तर ब्रोकरले आइटीमा लगानी नै गर्न नचाहेका उनीहरुको प्रस्तुती र भनाईबाट पुष्टि हुने नेप्सेका एक अधिकारी दाबी गर्छन् । 

अनलाइन कारोबार प्रणालीमा लगानीकर्ताको उत्साहजनक सहभागिता भइरहेका कारण दोस्रो बजारमा नयाँ लगानीकर्ताको प्रवेशलाई थाम्न हम्मेहम्मे परिरहेको छ ।  

बजारमा ५० ब्रोकरहरुको सिण्डीकेट छ । उनीहरुको एकाधिकार रहेकै कारण आफ्नो क्षमता बढाई लगानीकर्तालाई सुविधा दिनेतर्फ उनीहरुको चासो नदिएका देखिएको छ । 

अलिनो पनि खान नचाहने र नुनको ढिका पनि फोर्न नचाहने ब्रोकरहरुको हर्कतबाट आजित भइयो । नेप्सेका ती अधिकारीले बिजशालासँग भने ।