काठमाण्डौ । पछिल्लो समय ऋणपत्र निश्कासनका लागि वाणिज्य बैंकहरु आकर्षित हुँदै गएका छन् । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत ऋणपत्र निश्कासन सम्बन्धी निर्देशिकामा केही लचिलो व्यवस्था गरिदिएपछि एकपछि अर्को ऋणपत्रमा लगानीको अवसर सिर्जना भएको हो । 

ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ। ऋणपत्रलाई पूँजी कोष अनुपातमा मिलाउन पाइने भएकाले पनि बैंकहरुले पछिल्लो समय ऋणपत्रलाई रुचाउन थालेका हुन्।

यही क्रममा एनएमबी बैंक पनि ऋणपत्र निश्कासनका लागि कस्सिएको छ । यो बैंकले ३ अर्ब मूल्यको ऋणपत्र निश्कासन गर्ने योजना बनाएको हो ।

यो बैंकलाई ऋणपत्र निश्कासनका लागि राष्ट्रबैंकले स्वीकृति दिइसकेको छ भने धितोपत्र बोर्डको स्वीकृतिको पर्खाईमा छ । 

यो बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासन गर्ने योजना बनाएको हो । ब्याजदर भने निश्चित भइसकेको छैन ।

सिद्धार्थ बैंकले २.२५ अर्बको ऋणपत्र निश्कासनको अनुमति पाइसकेको छ भने एनआइसी एशिया आफ्नो चौथो ऋणपत्र निश्कासनको पर्खाईमा छ ।

यस्तै, सानिमा बैंक पनि ऋणपत्र निश्कासनको योजनामा छ । 

यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले २ अर्ब ५० करोडको तथा एनआइसी एशियाले ११ प्रतिशत ब्याज पाइने ४ अर्बको ऋणपत्र पनि निकट भविष्यमै आउँदैछ ।