काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ६ सय रुपैयाँ भन्दा बढीमा सेयरको कारोबार भइरहेको स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आजदेखि बिक्री नभएको हकप्रद सेयरको लिलामी खुलाएको छ । 

यो लघुवित्त कम्पनीले बिक्री नभएको ११ हजार १ सय २९.०१ कित्ता सेयर बोलकबोलबाट बिक्री गर्ने उद्देश्यले लिलामी खुलाएको हो । 

इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको मूल्य राखी मंसिर ४ गतेभित्र गोप्य बोलपत्र पेश गर्नुपर्नेछ ।

एनएमबी क्यापिटल लिमीटेडको मुख्य कार्यालयमा गएर काठमाण्डौ उपत्यकाभित्रका लगानीकर्ताले तथा उपत्यका बाहिरका लगानीकर्ताहरुले एनएमबी बैंकका विभिन्न ठाउँका शाखाबाट लिलामीमा सहभागी हुनका लागि दरखास्त दिन सक्नेछन् । 

इच्छुकले न्यूनतम १०० कित्ताका लागि न्यूनतम प्रतिकित्ता रु.१०० मूल्य राखेर आवेदन दिन सक्ने बताइएको छ । 

यो लघुवित्त कम्पनीले केही समयअघि एकसय प्रतिशतको दरले हुन आउने कुल १२ लाख २४ हजार ९ सय ७८ कित्ता हकप्रद सेयर निश्कासन गरेको थियो । सोही क्रममा सेयरधनीले खरीद नगरेको सेयर लिलामीमा राखिएको हो । 

लिलामीको प्रक्रिया पूरा भइसकेपछि कम्पनीको चुक्तापूँजी बढेर २४ करोड ४८ लाखको उचाईमा पुग्नेछ ।