काठमाण्डौ । ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर खरीदका लागि आवेदन दिएका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको सेयरमा लगानीकर्ता ओइरिएका छन् । 

यो कम्पनीले बिहीबारदेखि निश्कासन गरेको ३७ लाख ५ हजार कित्ता आइपीओमा दोश्रो दिन शुक्रबार दिउँसो ३ बजेसम्म १ करोड ७४ लाख ६२ हजार ६७० कित्ता खरीदका लागि आवेदन परेको छ । 

सेयरको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार देशभरबाट ३६ हजार ३८० आवेदकले १७ करोड ४६ लाख २६ हजार ७०० रुपैयाँ बराबरको आवेदन दिएका हुन् । 

यो कम्पनीले कुल निश्कासित ३७ लाख ५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने १ लाख ११ हजार १५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । र, बाँकी रहेको ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । यसरी हेर्दा दोश्रो दिन दिउँसो ३ बजेसम्म मागको तुलनामा दोश्रो दिनमै ४.८६ गुणा बढी आवेदन परेको हो । 

इच्छुक लगानीकर्ताले छिटोमा चैत ११ भित्र र ढिलोमा बैशाख ६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । 

हाललाई दरखास्तका साथ प्रतिसेयर रु. १० को दरले(अंकित मूल्यको दश प्रतिशत)ले हुने रकम भुक्तानीका लागि अग्रिम माग गरिएको छ । यसको अर्थ प्रतिसेयरका लागि रु. १० रुपैयाँ बैना गरी प्रतिकित्ता १०० रुपैयाँको सेयर बुक गर्न सकिन्छ । ती सेयर बापत चुक्ता हुन बाँकी रकम आयोजनाको निर्माण कार्य ५० प्रतिशत पूरा भएपछि माग गरिनेछ ।

इच्छुकले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यसको अर्थ साथमा रु। एकहजार रुपैयाँ हुनेले समेत १०० कित्ता सेयरका लागि बैना गर्न सक्नेछन् । 

यो कम्पनीको आइपीओमा प्रधानमन्त्री ओलीले १० हजार कित्ता, उनकी पत्नी राधिका शाक्यले १० हजार कित्ता, उर्जामन्त्री वर्षमान पुनले १ हजार कित्ता, उनकी पत्नी ओनसरी घर्तिले २ हजार कित्ता खरीदका लागि आवेदन दिएका थिए । 

यो कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ। 

आयोजनाले दोस्रो पटक सार्वजनिक शेयर निष्काशन नहुँदासम्म अग्रिम रुपमा गरिएको लगानीको प्रचलित ब्याज रकम बराबरको बोनस शेयर समेत दिने बताइएको छ।

त्रिशुली जलविद्युत कम्पनी लिमीटेड सन् २०११ मा स्थापित एक पब्लिक कम्पनी हो । 

यो कम्पनी नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमीबाट संयुक्त रुपमा प्रवद्र्धित हो । 

यो आयोजनाको निर्माण लागत ८ अर्ब २२ करोड हुने अनुमान गरिएको छ ।

कुल लागतमा नवील बैंक, एचआइडिसिएल र नेपाल बैंकले कन्सोर्टियम मोडलमा ७० प्रतिशतले हुन आउने ५ अर्ब ७६ करोड लगानीको प्रतिबद्धता जनाइसकेका छन् ।

यो कम्पनीमा विद्युत प्राधिकरणको ३० प्रतिशत, नेपाल टेलिकमको ३० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, नूवाकोट र रसुवाका आयोजना प्रभावितको १० प्रतिशत, विद्युत प्राधिकरण र नेपाल टेलिकमका कर्मचारीका लागि ५ प्रतिशत, रसुवा र नूवाकोटका फाइनान्सियल इन्स्टिच्यूटको ५ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

कम्पनीको जारी पूँजी २ अर्ब ४७ करोड रहेको छ । जारीपूँजीको १५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन भएको हो ।