काठमाण्डौ । 'नेपालको पानी जनताको लगानी' कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर किन्ने घोषणा गरेका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले ३७ लाख ५ हजार कित्ता आइपीओ आगामी चैत ७ गतेदेखि निश्कासन गर्ने भएको छ । 

इच्छुक लगानीकर्ताले छिटोमा चैत ११ भित्र र ढिलोमा बैशाख ६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । 

हाललाई दरखास्तका साथ प्रतिसेयर रु. १० को दरले(अंकित मूल्यको दश प्रतिशत)ले हुने रकम भुक्तानीका लागि अग्रिम माग गरिएको हो । ती सेयर बापत चुक्ता हुन बाँकी रकम नियमानुसार कम्पनीले पछि माग गर्नेछ । 

इच्छुकले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । सीआस्वा सेवा संचालनको अनुमति पाएका बित्तीय संस्था र तिनका शाखा वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ४ गते शेयर यो कम्पनीको सेयर खरीदको घोषणा गरेका थिए । यो कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ। 

आयोजनाले दोस्रो पटक सार्वजनिक शेयर निष्काशन नहुँदासम्म अग्रिम रुपमा गरिएको लगानीको प्रचलित ब्याज रकम बराबरको बोनस शेयर दिने बताइएको छ।

त्रिशुली जलविद्युत कम्पनी लिमीटेड सन् २०११ मा स्थापित एक पब्लिक कम्पनी हो । 

यो कम्पनी नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमीबाट संयुक्त रुपमा प्रवद्र्धित हो । 

यो आयोजनाको निर्माण लागत ८ अर्ब २२ करोड हुने अनुमान गरिएको छ ।

कुल लागतमा नवील बैंक, एचआइडिसिएल र नेपाल बैंकले कन्सोर्टियम मोडलमा ७० प्रतिशतले हुन आउने ५ अर्ब ७६ करोड लगानीको प्रतिबद्धता जनाइसकेका छन् ।

यो कम्पनीमा विद्युत प्राधिकरणको ३० प्रतिशत, नेपाल टेलिकमको ३० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, नूवाकोट र रसुवाका आयोजना प्रभावितको १० प्रतिशत, विद्युत प्राधिकरण र नेपाल टेलिकमका कर्मृचारीका लागि ५ प्रतिशत, रसुवा र नूवाकोटका फाइनान्सियल इन्स्टिच्यूटको ५ प्रतिशत लगानी रहनेछ ।

कम्पनीको जारी पूँजी २ अर्ब ४७ करोड रहेको छ । जारीपूँजीको १५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन हुने भएको हो । कुल निश्कासित ३७ लाख ५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने १ लाख ११ हजार १५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

अरु व्यवस्था के छ ?
जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका जलविद्युत कम्पनीले शेयरको सार्वजनिक निष्काशन गर्दा त्यस्तो शेयर खरिद गर्न चाहने आवेदकले आवेदन साथ शेयरको चुक्तामूल्यको दश प्रतिशत रकम दाखिल गर्नुपर्ने गरी आवेदन माग गर्न सक्ने सुविधा हुनेछ ।

त्यसरी आवेदन गर्ने आवेदकलाई शेयर बाँडफाँट हुने भएमा कम्पनीको दश प्रतिशत चुक्ता भएको शेयर प्रदान गरिने र उक्त शेयरधनीलाई कम्पनीले नेपाल सरकारले निर्धा्रित गरेको बार्षिक प्रतिफल प्रदान गर्न सक्नेछ भने यस्तो प्रतिफल शेयरको चुक्ता हुन बाँकी रकममा मिलान गर्न सकिने व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ ।

यस्ता आयोजनाका संस्थापकहरुले लिन कबूल गरेको शेयरको शतप्रतिशत रकम भुक्तानी भई आयोजनाको निर्माणको न्यूनतम पचास प्रतिशत भौतिक प्रगति भएपछि कम्पनीले शेयरधनीसँग चुक्ता हुन बाँकी रकम माग गर्नसक्ने र रकम प्राप्त भएपछि निष्काशित शेयरको चुक्ता रकम शतप्रतिशत गरी सम्बन्धित शेयरधनीलाई शेयर जारी गरिने व्यवस्था गरिएको छ ।

शेयरको रकम शतप्रतिशत चुक्ता भए पश्चात त्यस्तो शेयर धितोपत्रको दोश्रो बजारमा कारोबार हुनसक्ने व्यवस्था समेत गरिएको छ ।

शेयरको चुक्ता हुन बाँकी सम्पूर्ण रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकम बराबरको शेयर अन्य इच्छुक खरिदकर्तालाई एक महिनाको समय अवधि दिई सार्वजनिक सूचना जारी गरी बिक्री गर्न सक्ने छ । तर सो सम्पूर्ण शेयर बिक्री हुन नसकेमा बिक्री हुन बाँकी रहेको शेयर संस्थापक शेयरधनी वा नेपाल सरकारको नाममा रहनेछ ।