काठमाण्डौ । नेपाल राष्ट्रबैंकले रु. १००० दरको ३१ करोड थान नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । 

चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले एकहजार नोटको डिजाइन, छपाई तथा आपूर्तिको ठेक्का पाएको हो । 

मुद्रा व्यवस्थापन विभागका अनुसार नोटको डिजाइन, छपाई तथा आपूर्तिका केन्द्रीय बैंकले बोलपत्र आह्वान गरेको थियो । सो क्रममा परेका बोलपत्रहरुमध्ये न्यूनतम मूल्याङ्कित चिनियाँ कम्पनीको बोलपत्र स्वीकृत भई असोज १२ गते सम्झौता भएको हो । 

यो कम्पनीले यी सबै काम गर्नका लागि ९१ लाख ९० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको बताइएको छ । यो भनेको नेपाली रुपैयाँ १ अर्ब ५० करोडको हाराहारीमा हो ।  

यसरी हेर्दा एकहजार दरका ३ खर्ब १०अर्ब रुपैयाँ बराबरको नोट छपाई तथा आपूर्तिका लागि राज्यको १ अर्ब ५० करोड खर्च हुनेछ ।