काठमाण्डौ । चेक क्लियरिङमा हुने ढिलाई अन्त गर्दै राष्ट्रबैंकले भदौ २५ गते(हिजो)देखि रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजिएस) प्रणाली लागू गरेको छ । यो प्रणाली लागू भएसँगै कारोबार भएको वास्तविक समयमै चेकमार्फत जम्मा भएको रकम तुरुन्तै खातामा आउनेछ । 

यो प्रणाली नहुँदा चेकको रकम खातामा जम्मा हुन २४ घण्टासम्म लाग्ने गर्दथ्यो । चेकको रकम तुरुन्तै खातामा जम्मा नहुँदा धेरै सेवाग्राही प्रभावित हुँदै आएका थिए । 

यस्तै, यो प्रणाली कार्यान्वयनमा आएपछि कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि चेक काट्नु नपर्ने व्यवस्था समेत लागू भएको छ । चेकको साटो एउटा फारम भर्नुपर्ने हुन्छ । यो फारमले नै चेकको विकल्पको काम गर्नेछ । राष्ट्रबैंकबाट तयार यस्तो फारम बैंकमा दिएपछि सम्बन्धित खातावालको खातामा रकम तुरुन्तै जम्मा हुनेछ । राष्ट्रबैंकका अनुसार  त्यस्तो फारम भुक्तानीकर्ताले आफ्नै कार्यालय वा घरमा भरेर पाउने व्यक्तिलाई दिन सक्नेछ । 

केन्द्रीय बैंकका अनुसार २ लाख भन्दा कम रकमको हकमा भने एकाउन्टपेयी चेक नै जारी गर्नुपर्नेछ । 

राष्ट्रबैंकले पहिलो चरणमा रियल टाइम सेटलमेन्ट सम्बन्धी यो व्यवस्था वाणिज्य बैंकमार्फत कार्यान्वयन गरेको हो । विकास बैंक र वित्त कम्पनीले वाणिज्य बैंकमार्फत यस्तो कारोबार गर्न सक्नेछन् । 

यो व्यवस्थाले चेक जारी गर्ने खर्च ह्वात्तै घट्ने आशा गरिएको छ । 

यसैबीच, राष्ट्र बैंकले २० लाखभन्दा माथिको रकमका लागि  चेक जारी गर्नै नपाइने व्यवस्था समेत गर्न लागेको छ । यस्तो कारोबार समेत आरटिजिएस प्रणालीमार्फत नै हुनुपर्ने व्यवस्था हुन लागेको हो । 
   
हाल यो प्रणालीमार्फत रकम भुक्तानी गर्दा कागजी प्रक्रिया नै अपनाउनुपर्ने भए पनि भविष्यमा भने अनलाइन कारोबारको व्यवस्था हुनसक्ने केन्द्रीय बैंकको प्रष्टोक्ति छ ।

यसैबीच, आरटिएसमार्फत वास्तविक समयमै रकम भुक्तानी हुने भएकाले बैंकलाई रकम अभाव हुन नदिन राष्ट्र बैंकले वैधानिक तरलता अनुपात कायम गर्न राख्ने रकमको २५ प्रतिशत सम्बन्धित बैंकलाई नै उपलब्ध गराएको छ । तर, बैंकहरूले राष्ट्र बैंकमा अनिवार्य राख्नुपर्ने रकम (अनिवार्य नगद मौज्दात) घटाएर बाँकी हुने रकमका आधारमा बैंकले तरलता सुविधा पाउनेछन् । वैधानिक तरलता अनुपातका रूपमा वाणिज्य बैंकहरूले कुल निक्षेपको १० प्रतिशत रकम राखेका हुन्छन् । यस्तो रकममा राष्ट्र बैंक अनिवार्य राख्नुपर्ने रकम सहित विभिन्न ऋणपत्र खरिद गरेर कायम गरिएको हुन्छ ।

कति शुल्क लाग्छ ?
आरटिएस प्रणालीबाट भुक्तानी राफसाफ गर्दा तिर्नुपर्ने शुल्क समयअनुसार निर्धारण गरिएको छ । राष्ट्र बैंकले हालको कार्यालय समयलाई तीन भागमा बाँडेर शुल्क निर्धारण गरेको छ । बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म प्रतिकरोबार १० रुपैयाँ लाग्नेछ । त्यस्तै, साढे २ बजेसम्मको कारोबारको २० रुपैयाँ लाग्नेछ । त्यसपछि कारोबार राफसाफ हुनेछैन । यो समयमा अन्तर बैंक हिसाब मिलान हुनेछ । यसका लागि बैंकले प्रतिकारोबार १ सय रुपैयाँ तिर्नुपर्नेछ ।