-भक्तराज रसाइली
काठमाण्डौ । नेपालको धितोपत्र बजारमा भएको एक किसिमको स्वाद चाखिसकेकाहरु जीवनपर्यन्त नै यसै क्षेत्रमा होमिरहेका हुन्छन् । यही विशिष्ट गुण भएको पूँजीबजारकै लागि भनेर सरकारी अफिसरको आकर्षक जागिरलाई पन्छ्याउँदै अनवरत लागिरहेका सक्रिय लगानीकर्ता हुन् दिलीप श्रेष्ठ । 
संखुवासभाको चैनपुरमा जन्मिएर काठमाण्डौलाई कार्यथलो बनाउँदै अहिले काठमाण्डौं ३० रातोपुलमा आफ्नै आलीसान बगंलामा बसोबास गर्र्दै आएका उनै श्रेष्ठ ६८ वर्षको उमेरमा पनि सेयर कारोबारमा निकै सक्रिय छन् ।  

अर्थशास्त्र विषयमा स्नातक उनी नेपाल खाद्य संस्थानमा अफिसरका रुपमा जागिरे थिए । सेयर बजारमा न्यूट्रल लगानीकर्ताको छवि बनाएका श्रेष्ठ अर्गानिक अभियन्ता पनि रहेछन् । उनले आफ्नो निजी निवासमा गार्डेनसँगै विभिन्न तरकारी, फलफूल र छतमा समेत अर्गानिक तरकारी खेती गर्र्दै आएका रहेछन् । 

उनको अर्गानिक तरकारीप्रतिको रुचिलाई बिजशाला टिम नियाल्न छतमा जाँदा अहिले पनि टमाटर, करेला, बैगुन, घिरौंला, क्याप्सिकन लगायतका सब्जीहरु लटरम्म फलेको दृश्य देखियो । 

युवाझैं देखिने श्रेष्ठ निकै खुशी र सन्तुष्ट रहनुमा उनको सक्रियता नै कारण हो भनेर अनुमान गर्न गाह्रो भएन ।

साहित्यमा त अझ उनी निकै पारण्ङ्गत नै रहेछन् । घरमा बसिरहेका बेला थुप्रै साहित्यिक रचनामा रमाउने उनले अर्गानिक तरकारी र प्रकृतिसँग दाँज्दै मीठो अर्गानिक कविता पनि सुनाउन भ्याए । 

नौ वर्ष कार्यकाल बाँकी छँदै २३ वर्ष राष्ट्र सेवा गरिसकेपछि सेयर बजारले तानेर जागिर जीवनबाट सन्यास लिदै उनले भेट्रान लगानीकर्ताको छवि बनाएका छन् । संस्थानमा जागिरे हुँदा उनले अडिट काम गर्ने भएकाले सूचिकृत कम्पनीहरुको वित्तीय प्रतिवेदनसमेत राम्रैसँग केलाउने क्षमता थियो ।

उनी कार्यरत अफिसमा सेयर बजारको विषय औधी चर्चा हुन्थ्यो, फलस्वरुप उनमा पनि सेयरको नशा चढ्दै गयो । तथापि सरकारी जागिर भने जीवन आधार र अहिलेको उचाइ समाउने हाँगो भएकोमा राष्ट्रसेवाप्रति नतमस्तक रहेको बताए। 

२०५८ सालमा जागिरबाटै अवकास लिएर १२ लाख बुझे, सो पैसा दोस्रो बजारमा लगानी गर्ने उद्देश्यले उनले सुरुमा हरिसिद्दि इँटा तथा टायल उद्योग प्रा.लि.को २ हजार कित्ता उठाए । १० रुपैयाँ अंकित मूल्यको उक्त सेयर  दोस्रो बजारबाट ५ रुपैयाँमा खरिद गरे, तर किनेपछि सेयरको भाउ निरन्तर ओरालो लाग्दै गयो, घट्दै १ रुपैयाँ ४० पैसासम्म आएपछि सो कम्पनीको सेयर नबेची प्रमाणपत्र साथै राखेको सुनाए । लोभलाग्दो सरकारी जागिर छाडेका उनलाई पहिलो गाँसमै ढुगां लागेको थियो । यद्यपि हरेश नखाने उनको स्वभाव नै उर्जाको स्रोत बन्यो । ‘सो असफलताले मलाई दरिलो पाठ सिकायो।’उनले भने–‘होशियारीको बिम्वका रुपमा मैले लिएँ ।’

उसो त जागिर खाने क्रममै उनले पेश्की रकम लिदै सेयरमा लगानी गर्ने गरेका थिए । 

नेपाल चलचित्र विकास संस्थानको १० कित्ता सेयर आइपीओमा परेको पहिलो सेयर भएको उनले सम्झे । ०५८ सालमा जागिर छाड्दा २–३ वर्ष त मन्दी नै छाएछ ,आँट अलिक हराएको पनि थियो रे । ‘तर मैले आइपीओमा भने लगानी गरिरहेँ ।’ २०६३ सालदेखि भने बुलिस ट्रेन्ड समातेका बेला क्लिन इनर्जी र गोर्खा फाइनान्सको आइपीओ क्रमशः ९ सय र ५ सयमा बेचेको रोचक प्रसङ्ग सुनाए । ‘त्यतिबेला नेप्सेमा सूचिकृत हुनुअघि नै बजारमा मैले त्यो मूल्यको अफर आएपछि ठूलो मुनाफा कमाउन सफल भएँ ।’ उनी भन्छन्–‘नजानी नै सेयर बजारमा होमिएपछि मैले वर्षमा २–३ लाख कमाउनु सामान्य भएको थियो ।’

जागिरे जीवनमा नै घट्टेकुलोमा १ तले घर बनाएका उनले सेयरको थप कमाइले अर्को एक तला समेत थपे । बैंकमा घर धितो राखी १५ लाख ऋण लिएर सेयरमा लगानी थपे । अहिले पनि करोडौं रकम ऋणबाटै सेयर खरिदबिक्री गरे पनि राम्रा कम्पनीहरुको आफूसँग पोर्टफोलियो भएकाले कम्पनीबाट आएको लाभांशले नै सघाउ पुगिरहेको दाबी गरे ।

कलेजका विद्यार्थीहरुलाई पनि इन्स्योरेन्स र सेयर मार्केटका विषयमा ज्ञान हुन जरुरी रहेको उल्लेख गर्दै सेयरको भाउ बढ्छ भन्दा पनि उद्योगको मालिक भएको भनी ठान्नुपर्ने उनको बुझाइ छ । भाउसँग दाँज्ने परिपाटी गलत भएको उनले टिप्पणी गरे ।

२०५९ सालदेखि ०६५ सालसम्म आइपीओमा लगानी गर्दा विकास बैंक, फाइनान्सहरुले २.५ प्रतिशतमा मार्जिन लेण्डिङको व्यवस्था गरिदिने भएकाले समेत आफूले आइपीओबाट मनग्यै कमाउन सकेको विगत कोट्याए । ‘त्यसबखत मसँग ५ लाख भएमा बैंकले १ करोडको मार्जिन दिन्थ्यो।’उनले भने–‘कमाएपछि जोगाउनतर्फ होशियार  हुनुपर्छ । महत्वकांक्षा पलाएमा सेयर बजारबाट नै पलायन हुनुपर्ने दिन आउनसक्छ।’

आफूले जागिर खाँदा अडिट सेक्सनमै काम गरेकाले समेत नेप्सेमा सूचीकृत कम्पनीहरुको वासलात सहज रुपमै केलाउन र लगानीको निर्णय गर्न सघाउ पुगिरहेको उनको भनाइ छ । कुनै एक कम्पनीको विश्लेषण गरेर सम्पूर्ण लगानी त्यसैमा खन्याएको स्मरण गर्दै उनी भन्छन्–‘मैले विश्लेषण गरेको आज सत्य सावित भएको छ र टप कम्पनी भित्रै ती कम्पनी परेका छन् ।’

घट्टेकुलोको घरमा तला थप्दै साढे तीन तला बनाइसकेपछि उनले सवा करोडमा बेचेर हाल बसिरहेको रातो पुलमा जग्गा किनेर आफ्नै डिजाइनमा घर बनाए ।

सेयर बजारको थुप्रै उत्तारचढाव देखेका/भोगेका श्रेष्ठ अहिले भर्खर बुलिस ट्रेण्डको सुरुवात भएकाले नवप्रवेशीहरुका लागि स्वर्णिम अवसर भएको दाबी गर्छन् । हाइड्रो सेक्टरमा अधिक जोखिम भएको, तर बैंकिङ सेक्टर लगानी र प्रतिफलका दृष्टिकोणले उपयुक्त रहेको सुझाए । अहिले खरिद गरेको सेयर होल्ड गर्नसके ३ वर्षभित्र ५ गुणा बढ्ने उनको ठोकुवा छ । 

सेयर बजारको पर्याप्त अभ्यासबिना ऋणमा सेयरको लगानी घातक रहेको जिकिर गर्दै उनले आफ्नो सफलताको राज जोखिम कम लिने भएको खुलाए । वर्षमा सयौंपटक कमाउने अवसर आउने भएकाले धैर्यता आवश्यक रहेको सुनाए । 

०६३–६४ सालताका एभरेष्ट बैंकको अग्राधिकार सेयर २ सयमा जोखिम मोलेर १२ हजार कित्ता किनेको र १५ दिनपछि नै ७ सयमा अफर आउँदा ६० लाख चोखो मुनाफा कमाएको उनी सम्झन्छन् । ‘मेरो लाइफस्टाइलको टर्निङ पोइन्ट नै त्यो बेला भयो, १ महिनामा २४ लाख लगानी गरेर ६० लाख कमाउन सफल भइयो ।’ उनले थपे । 

बैंकमा ब्याज र सेयरमा लगानीबीच लगानीकर्ताका विकल्प रहेकामा समयानुसार लगानीको क्षेत्र निर्धारण गरेर जोखिम भार कम गर्न सकिने उनको आशय छ । सेयर बजार जुवाघर नभई ग्याम्बलिङ टेष्ट नेचरको बिजनेस भएको टिप्पणी गर्दै कम जोखिममा स्यूरसट प्रफिट लिनुपर्ने उनको भनाइ छ ।
सबै अण्डालाई एउटै बास्केटमा नहाली लगानी विविधिकरण गर्नुपर्ने सिद्धान्त विपरीत उनले ‘सुन असल छ’ भने असल एउटै चीजमा लगानी ओइराइनुपर्ने सल्लाह दिए । सेयर बजारको लगानी विश्वसनीय र सूचनाको बिजनेस भएकाले न्यून जोखिममा सुरक्षित लगानी गरे सेयरबाट करोडपति असंभव नरहेको दाबी गरे ।

नियामकीय निकायहरुले अहिले पनि सूचनामा खेल्ने प्रवृत्ति भएकाले यसतर्फ सोझा लगानीकर्ता सजग रहन उनले जोड दिए । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से लगायतका संस्था स्वायत्त हुनुपर्ने उनको माग छ ।