- भक्तराज रसाइली
काठमाण्डौ । स्टक ब्रोकर एसोसिएसनमा सदस्य र सुन्धारा सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ५२) का सीईओ हुन्, फणिन्द्र ढकाल । 

भरतपुर चितवन पुख्र्याैली घर भएका ढकालले त्रिभुवन विश्वविद्यालय (त्रिविवि) बाट लगानी विषयमा स्नातकोत्तर गरेका छन् । डिग्री अध्ययनकै क्रममा लगानीकर्ताका रूपमा उदाएका ढकाल सुरुमा सेयर बजारमा ३-४ हजार रुपैयाँमात्र लगानी गरेर प्रवेश गरेका थिए । ढकालले स्नातकोत्तर तहमा स्टक एक्सचेन्जकै विषयमा थेसिस गरेका रहेछन् । 

२०६५ सालमा एजुकेसन कन्सल्ट्यान्सी सञ्चालन गरेका ढकालले बिहान–बेलुकी कलेजमा पनि पढाए । लगत्तै ४ वर्षपछि आईक्यानबाट सम्बन्धन लिएर सीएआई नामक कोचिङ सेन्टर खोलेर उनले सीएका विद्यार्थीहरुलाई ट्युसन पढाउन सुरु गरे । 

२०७३ सालमा सुन्धारा सेक्युरिटिजको सेयर अंश लिई ढकाल ब्रोकरेज पेसामा प्रवेश गरेका हुन् । सुन्धारा सेक्युरिटिज लिमिटेडको स्थापना २०६४ सालमा भएको कम्पनीले जनाएको छ । कम्पनी काठमाण्डौ–११ बाघदरबारस्थित जेडीए अफिस कम्प्लेक्समा अवस्थित छ । उपत्यकाबाहिर कम्पनीको लमजुङ बेसीसहर नारायणथान चोकमा शाखा छ भने हालै ५ ठाउँमा शाखा विस्तारका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

नौजना प्रमोटर रहेका कम्पनीका अध्यक्ष गोपीप्रसाद बड्तौला हुन् । कम्पनीको चुक्ता पूँजी ५ करोड १५ लाख रहेकोमा नेटवर्थ ५ करोड ६० लाख रहेको छ । बिहान ९ः३० देखि बेलुकी ६ः३० सम्म कार्यालय समय रहेको कम्पनीमा १५ जना कर्मचारी कार्यरत छन् । 

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १७५ कम्पनीका ४९ करोड ८९ लाख ९६ हजार रुपैयाँबराबरको कारोबार गरेको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म भने २ अर्ब ६१ करोड ७४ लाख २६ हजार रुपैयाँबराबरको कारोबार गरेको कम्पनीले जानकारी दिएको छ । 

डीपी सेवाका लागि गत साउनमा आवेदन गरेको कम्पनीको दाबी छ । 

कम्पनीको कार्यालयमा कारोबार समयमा दैनिक २५–३० जना लगानीकर्ताको उपस्थिति रहँदै आएकोमा दैनिक औसत ५० जना चाहिँ सेयर कारोबारी रहेछन् । कम्पनीमा पछिल्लो तथ्यांकअनुसार ४ हजार ६३४ केवाईसी अपडेट रहेका छन् भने १६ वटा संस्थागत लगानीकर्ता छन् ।

कारोबारका आधारमा ५२ नम्बर टप ३० भित्र रहेको दाबी गर्दै ढकाल नरम व्यवहार र ब्रोकरेज कार्यालयका विभागमा मास्टर्स पास र अनुभवी कर्मचारीले सेवा दिइरहेकोले यो नै बलियो पक्ष भएको तर्क गर्छन् । 

भरतपुरमा स्नातक अध्ययन गर्ने क्रममा आफ्ना गुरुले स्टक एक्सचेन्जका बारेमा जानकारी दिँदा सोही जानकारी नै जरोका रूपमा छोएर ब्रोकर पेसा रोजेको ढकालले बताए । एमबीएस पढ्दा पनि कोचिङ पढाउने गुरुलाई जिज्ञासाका रुपमा स्टक एक्सचेन्जबारे सोध्ने गरेको उनले विगत सम्झे ।

विद्यार्थीकालदेखिकै चासो र इच्छाशक्तिले आज ब्रोकरका रुपमा नेपालको पूँजीबजारमा पाइला टेकेको उनको भनाइ छ । 

पक्षपातरहित कार्यसम्पादन र प्रोफेसनल सर्भिसमा विश्वास गर्दै इमानदार सेवा दिने ब्रोकरका रुपमा आफू फस्ट लाइनमा रहेको ढकालले दाबी गरे ।

कम्पनीले सेयर खरिदबिक्रीको सहज सुविधाका साथमा बैंकमै भुक्तानीको व्यवस्था रहेको समयमै भुक्तान दिँदै आइरहेको ढकाल बताउँछन् । ‘इन्भेस्टरले हामीलाई भुक्तान गर्दा चौथो दिनसम्म कुर्ने गरेका छौं’, उनी भन्छन् ।

विदेशमा ब्रोकर कम्पनीहरुले ६-७ वटा सेवा दिइरहेको दाबी गर्दै ढकाल भन्छन्, ‘यहाँ पनि परामर्शदाता सेवा, पोर्टफोलियो व्यवस्थापन, स्टक डिलरसिपलगायतका सेवाहरु दिन पाउनुपर्छ । 

सुन्धारा सेक्युरिटीजमा तत्काल, शीघ्र र सहज ब्रोकरेज सेवाका लागि सेवा गर्ने मौका दिन ढकाल आग्रह गर्छन् । 

अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेपालका ब्रोकर कम्पनीहरूलाई सबलीकरणमा नेप्से र सेबोन चुकेको ढकालको ठम्याइ छ । रियल अभिभावक बन्न नियामक नेप्से र सेबोन चुकेको जिकिर गर्दै उनले भने, ‘ब्रोकरेज पेसाका कठिनाइ र गुनासाहरु सुनाउने पारिवारिक वातावरणको अभाव छ ।’ 

पूँजीबजारले मुलुकको जीडीपीमा राम्रो योगदान र  राज्यले राजश्वका रुपमा कमिसन र पूँजीगत लाभकर संकलनमा समेत उल्लेख्य योगदानमा महत्वपूर्ण भूमिका खेल्ने गरेको ढकाल सुनाउँछन् ।

आफू सीईओका रुपमा प्रवेश गरेपछि हालसम्म कम्पनीले कुनै पनि नियामकीय काबारही भोग्नु नपरेको ढकालको दाबी छ ।

धितोपत्र बजार प्रविधिमै आधारित भए पनि नियमन गर्ने निकायमा मानव संसाधन सबलीकरणको टड्कारो आवश्यकता रहेको ढकालले औंल्याए । सबै ब्रोकर कम्पनीहरुलाई पब्लिक बनाउन उनले सुझाए । उपर्युक्त विषयमा ध्यान पुर्याउन सकेको खण्डमा नेपालको पूँजीबजारले अन्तर्राष्ट्रियस्तर र विस्तार हुनेमा उनको बुझाइ छ । 

पूँजीबजारमा विगत १४ वर्षको अनुभवका आधारमा भन्नुपर्दा धितोपत्र बजारमा सहभागिता बढ्दो रहेको ढकालको अनुभव छ । ‘सीमित धनाढ्य व्यक्तिको चंगुलमा बजार छैन’, ढकालले विजशालासँग भने, ‘ब्रोकरहरु सबै जिल्लामा पुगेमा बजारको पहुँच वृद्धि हुन्छ । सबै पक्षबीचको हातेमालो र नियामकीय नीति निर्देशनबीच समन्वय भएमा नेपालको धितोपत्र बजार अन्तर्राष्ट्रियस्तरमा दरिलो उपस्थिति जनाउन सक्ने सम्भावना र सुनौलो भविष्य छ।’ 

 

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर ५२

माधवप्रसाद पोख्रेल (वर्ष ४८)

निर्माण व्यवसायी, ललितपुर

सेयर बजार र ५२ नम्बर ब्रोकरबाट धितोपत्र कारोबार गर्न थालेको ३ वर्ष भयो । यहाँका प्रत्येक विभागबाट जिम्मेवारीपूर्ण ढंगले उत्कृष्ट सेवा र पारिवारिक वातावरण पाएको छु । यहीँबाट निकट भविष्यमा मार्जीन लोनको व्यवस्था भए बेस हुन्थ्यो । म यो ब्रोकरलाई १० नम्बरमा ९.५ नम्बर दिन चाहन्छु ।

 

विक्रम केसी (वर्ष ५०)

निर्माण व्यवसायी, ललितपुर

विगत १० वर्षदेखि प्राथमिक बजारमा सक्रियता जनाएकोमा ५२ नम्बर ब्रोकरबाट भने ४ वर्षदेखि दोस्रो बजारमा पनि सेयर खरिदबिक्री गर्दै आएको छु । यहाँ कारोबार गर्दा सहज र सुविधा भएकोमा एकदमै सन्तुष्ट छु । 

 

मन्जु सिलवाल (वर्ष ३३) 

गृहिणी, सामाखुसी

विगत २–३ वर्षदेखि सेयर बजारमा आबद्ध छु । मैले यहाँबाट सेवा लिएको करिब अढाइ वर्ष भयो । राम्रो सेवासमेत भएकोमा म सन्तुष्ट छु । सबै ठीक छ । म यसलाई १० नम्बरमा ९ नम्बर दिन चाहन्छु ।