-भक्तराज रसाइली 
काठमाण्डौ । नेपालको सन्दर्भमा सेयर बजार भन्नेबित्तिकै आम मानिसहरूको सामन्य बुझाई पैसा कमाउने थलोका रुपमा चिनिन्छ । सेयर बजारबाट नै घरगाडी र शान सौकातको जिन्दगी जिउने पनि यहाँ नभएका होइनन, तर सेयर बजारमा लगानी गरेर गुमाउनेको संख्या पनि उस्तै छ ।

लोभ र आशाको काल्पनिक संसार झै लाग्ने सेयर बजारमा करोडौं गुमाएर पनि विचलित नभई सेयर बजारमा सक्रिय एक उदाहरणीय पात्र हुन् सुनील बस्नेत । 

के कारण र कमजोरीले गुमाउन पुगे बस्नेतले र बजार प्रवेश गर्ने नवलगानीकर्ताहरुलाई उनको भोगाईबाट पाठ सिक्न सकून् भन्ने उद्देश्यले योपटक हामीले उनको स्टोरी बनाएका छौ । 

रामेछाप घर भएका सुनील बस्नेत हाल काठमाण्डौ बिशालनगरमा बसोबास गर्दै आएका छन् । सेयर लगानीकर्ता दवाब समूहमा सदस्यका रुपमा आवद्ध बस्नेतले आम लगानीकर्ताहरुको हकहितका लागि समूहमा जोडिएको तर्क राख्छन् । 

विद्यार्थी जीवन र सानोतिनो बिजनेस गर्दै गरेका बस्नेत ८ वर्षअघि श्रमका लागि कोरिया हानिए । करिब ५ वर्ष कोरियामा जमेर बसेका उनले नेपालमा राम्रोसँग पैसा समेत भित्र्याउन सफल भए । धेरै समयाअघिदेखि सेयर बजार बारे जिज्ञासा राख्ने गरेका बस्नेतले सेयर बजारविज्ञ रविन्द्र भट्टराईसँग सेयर तालिम समेत लिन पुगे । 

मुलुकमा पूँजीबजार विकाससँगै पूँजी निर्माण होस् भन्ने हेतूले आफूले कोरियाबाट नेपाल भित्र्याएको पैसा सेयरमा लगानी गर्ने मनसायले एकैचोटि दोश्रो बजारमा करिब ३ वर्षअघि छिरे । पचास लाख लगानीबाट दोस्रो बजारमा पाइला टेकेका बस्नेतले बैकिङ्ग र इन्स्योरेन्सको सेयर उठाए । 

प्राथमिक बजारको हकमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको एफपीओबाट प्रवेश गरेका उनले नेप्से इन्डेक्स बढ्दै जाँदा लगानी पनि थप्दै गए । 

जब नेप्से १६सय ५० पुग्यो बस्नेतले लगानी बढाउन आफूसँग बाँकी रहेको पैसा र बैंकबाट सेयर धितो लिएर धेरै गुणा लगानी बढाउन पुगे । 

नेप्से इन्डेक्स १८८१ पुग्दा उनको पोर्ट्फोलियो पनि बढ्यो, तर यो सही समयमा सेयर बेच्नबाट उनी चूके । ‘म नाफा बूक गर्नतिर लागिँन ।’ बस्नेतले बिजशालासङ्ग निराश मुद्रामा भने–‘राज्यको हितका लागि लगानी गरेको थिएँ ।’ 

‘सोही बेला धितोपत्र बोर्डले नेप्से उच्च बिन्दू हुँदा सेयरबजारमा कालोधन रहेको हौवा पिटाएपछि बजार क्र्यास हुन थाल्यो ।’बस्नेतले भने–‘स्थानीय निकाय चुनाव, आउन लागेको अनलाइन कारोबार, बैंकलाई ब्रोकर लाइसेन्स, एनाआरएन भित्र्याउने विषय लगायतका विषयले बजार विस्तार हुने भन्ने आशाले मैले लगानीलाई बढाउँदै लगेँ ।’

अढाइ करोड र सेयर धितो ऋण ७० लाख गरि जम्मा ३ करोडमाथि लगानी गरेका बस्नेतको हाल पोर्टफोलियो ४० प्रतिशतमै सीमित हुन पुगेछ । 

सेयरमा लगानी गरेर घाटा भए पनि बस्नेतले  कुनै गुनासो र चिन्ता नभएको जिकिर गर्दै भन्छन्–‘दीर्घकालीन लगानीमा घाटा हुँदैन ।’

करोडौं रकम गुमाएका बस्नेतलाई सेयर बजारले कस्तो शिक्षा दियो भन्ने जिज्ञासा राख्दा भन्छन्–‘हैसियतभन्दा माथि लगानी गर्न नहुने र ठीक्क थेग्न सक्नेमात्रै लगानी गर्नुपर्ने रहेछ ।’

नेप्से टपमा पुग्दा किन्न र बटममा आउँदा बेच्ने बानी त्याग्नुपर्ने सुझाव दिंदै बिजशालासँग भने–‘बूलमा प्रफिट बूक गर्न बिर्सन नहुने रहेछ ।’

सेयर बजार अनन्त छ, यसलाई समुद्रका रुपमा बुझ्नुपर्ने तर्क अघि सार्दै बस्नेतले हाल नेप्से न्यून विन्दूमा भएकाले कालान्तरमा मुनाफा कमाउने राम्रो अवसर भएको दाबी समेत गरे । 

बैंकलाई ब्रोकर लाइसेन्स वितरणपछि सेयर बजार पारदर्शितातर्फ उन्मुख हुने र धेरै उत्तारचढाव नभई सामान्य र प्राकृतिक रुपमा बजार चल्ने उनको बुझाइ छ । 

बजारबाट लाखौं रकम गुमाएपपछि उनले  नेपालको सेयर बजार सेबोन, नेप्से, अर्थमन्त्रालय र ब्रोकरहरुले चलखेल गर्ने क्रीडास्थल भएको दाबी गरे । यिनै निकायले चलखेल गरी बजारलाई आफू अनुकल चलाउन गरेका उनको दाबी छ । 

माफियाहरुको चङ्गुलमा रहेको नेपाली सेयर बजारमा सचेत भई लगानी गर्न आग्रह गर्दै उनले भने–‘२ सय जनाले लाखौंको पैसा लुट्ने थलोका रुपमा रहेको अपारदर्शी बजारलाई पारदर्शी बनाउन म हरपल माफिया सिस्टम विरुद्ध लडिरहन्छु । अनेकौं बहानामा सोझा लगानीकर्तालाई डुबाउने खेल बन्द हुनुपर्छ ।’

सेयर बजारको फ्रन्ट्लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जले इन्साडर ट्रेडिङ हुँदासमेत आजसम्म कुनै पनि गतिलो कारबाही नगरेको उल्लेख गर्दै ठूलो आर्थिक चलखेलमा त्यस्ता विषयहरु सामसुम पार्ने गरिएको आरोप लगाए ।

ब्रोकरले गल्ती गर्दा ३ दिनसम्म सस्पेण्ड हुने प्रावधान गलत भएको, यसले अझ गल्ती दोहोर्याउन सघाउ पुगेको तर्क राख्दै त्यस्ता ब्रोकरको लाइसेन्स खारेज हुनुपर्ने बस्नेतले धारणा राखे । 

ब्रोकर शाखा विस्तार गर्ने काम धितोपत्र बोर्डको रहेको दाबी गर्दै सरकारले नै बैंकलाई ब्रोकर लाइसेन्स वितरण गर्ने जिम्मा दिएको १ वर्ष बित्न लाग्दासमेत बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा तीव्र चलखेल भएको उनको ठम्याइ छ । 

‘नेप्से र सेबोन र अर्थमन्त्रालयका कतिपय कर्मचारीहरुले भूमिगत वा अदृश्य रुपमा ब्रोकर कम्पनी चलाईरहेको पाइएको छ ।उनीहरु नै बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा बाधक बनेका हुन् ।’ बस्नेत भन्छन् । 

कागजी रुपमा केही सम्पत्ति गुमाएको अवश्य हो, यसमा कुनै गुनासो छैन, तर सेयर बजारको दलालीपनले नयाँ लगानीकर्ता लुटिने र निरुत्साहित हुने माहोल भएको जिकिर गर्दै बस्नेतले अफवाह र होहल्लामा लगानी नगर्न सुझाए । आधा राज्य किन्ने हैसियत भएका एलिट ग्रुपले डमी लगानीकर्ता र विभिन्न भरौटे प्रयोग गरेर बजार अप्राकृतिक रुपमा चलाइरहेका र यसप्रति नआत्तिकन सचेत भई लगानी गर्नुपर्ने उनको बुझाइ छ ।

अन्य संघसंगठनका नेताहरु सेयर लगानीकर्ताहरुको हितमा भन्दा स्वहितमा लागेकोले कमजोर खबरदारी भइरहेको उनले औंल्याए । 

निकट भविष्यमा कृषि र आयातनिर्यात बिजनेसमा हात हाल्ने तयारीमा रहेका बस्नेत सेयर बजार मनमुटु भएकाले आजीवन यो क्षेत्रलाई पनि सँगै लिएर जाने बताउँछन् । 

यसरी अर्थतन्त्रकै महत्त्वपूर्ण हिस्सा मानिएको पूँजीबजारमा मात्रै भएभरका पैसा नखन्याई अर्थतन्त्रका विविध क्षेत्रमा लगानी विविधीकरणमा जोड दिन सकेको खण्डमा व्यक्तिको सम्पत्ति एकमुष्ट क्षति हुन पाउँदैन । सेयर बजारमा बुलिस र वियरिस विन्दूलाई समाउन सके सेयरबजारले करोडपति बनाउँछ अन्यथा हचुवाका भरमा लगानी गरिए रोडपपति बन्न पनि बेर लाग्दैन ।