काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासका लागि ४० करोड रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८१’ आज शुक्रबारदेखि बिक्री खुला गरेको छ ।

राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीहरुका लागि यो बचतपत्रको बिक्री खुला गरेको हो । यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीमात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

यो बचतपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याजन पाइनेछ । यो बचतपत्रको ब्याज भुक्तानी ६÷६ महिनामा गरिने छ भने ५ वर्षमा साँवा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

यो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिनेछ ।

लगानीकर्ताले चैत २१ गतेसम्म यो बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ता घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आउने रकमले खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले काठमाण्डौस्थित सिटिजन्स् बैंक इन्टरनसेनल, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेन्चुरी कमर्सियल बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफरमा गएर बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।