काठमाण्डौ । नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले बैशाख १२ गते बुधबारदेखि रु. ५०० रुपैयाँका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

मुद्रा व्यवस्थापन  विभागले एक सूचना प्रकाशित गर्दै रु. ५०० दरका नयाँ नोट प्रचलनमा ल्याइएको बताएको हो । 

नयाँ नोट साबिककै आकार तथा रंगमा डिजाइन गरिएको छ,  तर साबिकको २ वटा बाघहरुको चित्रको सट्टामा एउटा मात्र पाटेबाघको चित्र राखिएको छ ।

साबिकका रु. ५०० दरका पुराना नोट समेत चलनचल्तीमा यथावत रहने केन्द्रीय बैंकले प्रष्ट पारेकोछ ।

नयाँ नोटका विशेषता के के छन् ? हेरौं बुँदागत रुपमाः
नोटको अग्रभागमा
१. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको ।
२.नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
३.नोटको तल्लो भागमा गभर्नर डा. चिरञ्जिवी  नेपालको दस्तखत  रहेको । 
४.नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज  नम्बर नेपालीमा वि.सं. २०७३ लेखिएको ।
५.३.५ मि.मि.  चौडा भएको रंग परिवर्तन हुने(नोटलाई सीधा हेर्दा रातो रंग र  ढल्काएर  हेर्दा हरियो रंग देखिने)  सुरक्षण धागो रहेको ।
६.सगरमाथा हिमालको दायाँतर्फको तल्लो भागमा रहेको अण्डाकारभित्र रंग परिवर्तन हुने(नोटलाई सीधा हेर्दा सुनौलो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) कुबेरको चित्र रहेको ।
७.लालीगुराँसको पानीछापको बायाँतर्फ फरक क्षमता भएका(दृष्टिविहीन)हरुले छामेर नोट पहिचान गर्नसक्ने दुईवटा कालो थोप्लाहरु रहेको ।

नोटको पृष्ठ भागमा:
१.नोटको माथिल्लो भागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको ।
२.नोटको बीच भागमा एउटा पाटेबाघको चित्र रहेको । 
३.नोटको तल्लो भागमा अंग्रेजीमा RUPEES FIVE HUNDRED लेखिएको  ।
४.नोटको तल्लो भागको बोर्डमार  नोटको Series Number अंग्रेजीमा 2016 A.D. एडी लेखिएको ।