काठमाण्डौ । नेपाल राष्ट्रबैंकले १९०० लाख थान पाँचसय रुपैयाँको नोट छाप्न टेण्डर आह्वान गरेको छ । 

राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत रु. ५०० दरका नोट तपाईका लागि ग्लोबल टेण्डर आह्वान गरेको हो । 

राष्ट्रबैंकले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत नै नोटको डिजाइनिंग, प्रिन्टिंग र आपूर्तिको टेण्डर आह्वान गरेको हो । 

नोट डिजाइन, छपाई तथा आपूर्तिका लागि इच्छुक कम्पनी तथा तिनका प्रतिनिधिहरुले रु. २० हजार तिरेर दरखास्त दिनसक्ने व्यवस्था गरिएको छ । 

इच्छुकले शिलबन्दी बोलपत्र आगामी १७ मे को नेपाली समयअनुसार दिउँसो १२ बजेसम्ममा बुझाउनुपर्नेछ । यो भनेको टेण्डर नोटिस जारी भएको ४६ औं दिन हो । त्यसपछि प्राप्त हुन आएका कुनै पनि बोलपत्र स्वीकार नगरिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । 

बोलपत्र पेश गर्नेहरुको प्रतिनिधिको सहभागितामा शिलबन्दी बोलपत्र १७ मे कै दिन दिउँसो १२ः३० मा खोलिनेछ । 

यसैबीच, कतिपयले नयाँ नोटमा कामू गभर्नरकै हैसियतमा चिन्तामणि शिवाकोटीले हस्ताक्षर गर्न पाउने दाबी गरिरहेका छन् । तर, नयाँ नोटको ठेक्का प्रक्रिया र छपाई लगायतका प्रक्रिया सकिन मात्रै न्यूनतम ३ महिना समय लाग्ने भएकोले यो संभावना देखिन्न । किनभने सरकारले मुलुकमा जारी लकडाउन सकिएलगत्तै रिक्त गभर्नर पदमा उपयुक्त पात्रको नियुक्ति गरिसक्ने यसअघि नै प्रष्ट पारिसकेको छ । यसको अर्थ यी ५०० रुपैयाँ दरका नोटमा नयाँ गभर्नरले हस्ताक्षर गर्नेछन् ।