काठमाण्डौ । लामो अन्यौल र प्रतिक्षापछि भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनको तर्फबाट रेणुु दाहालले मेयर पदमा बाजी मारेकी छिन् । सोही गठबन्धनकी पार्वती शाहले उपमेयरमा जित हासिल गरेकी छिन् । भरतपुरको अन्तिम नतिजा आएसँगै केही नयाँ रेकर्डहरु बनेका छन् । जसलाई बुँदागत रुपमा हेरौं :

पहिलो महिला मेयर
भरतपुर महानगरपालिकाको मेयरमा जित हासिल गरेकी रेणुु दाहाल त्यहाँको मात्र होइन, देशकै पहिलो महिला मेयर बनेकी छिन् । पहिलो र दोश्रो चरणको स्थानीय निर्वाचनमा महिला मेयर हुनेहरु केही रहे पनि महानगरकै प्रमुख पदमा भने महिला निर्वाचित हुन सकेका थिएनन् । सरकारले काठमाण्डौसहित देशमा ६ वटा महानगर बनाएपछि पहिलोपटक भएको स्थानीय निर्वाचनमा रेणुुले निर्वाचन सम्पन्न भएका ५ वटा महानगरमध्येबाट पहिलो मेयर बन्ने शौभाग्य प्राप्त गरेकी छिन् । नेपालमा महानगरपालिकाको पहिलो मेयरको रेकर्ड रेणुुको नाममा बनेको छ । 

दुवै प्रमुख पदमा महिला
भरतपुरमा कांग्रेस माओवादी गठबन्धनको जितसँगै दुवै प्रमुख पदमा महिला निर्वाचित हुने रेकर्ड समेत कायम भएको छ । संभवत हालसम्म कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पदमा महिलाले बाजी मारेका थिएनन् । तर, ६ मध्येको एक महानगर भरतपुरमा मेयरमा माओवादीकी रेणुु दाहालले जितिन् भने उपमेयरमा कांग्रेसकी पार्वती शाहले बाजी मारिन् । दुवै प्रमुख पदमा महिला निर्वाचित भएपछि उनीहरुको नेतृत्वले अन्य महानगरको तुलनामा कस्तो काम गर्ने हो त्यो पनि सबैका लागि चासोको बिषय बन्ने देखिन्छ । आफूहरुलाई काम गर्ने वातावरण दिए पुरुषले भन्दा राम्रो काम गरेर देखाउने भन्दै बेला बेला महिला नेतृहरुले गर्ने गरेको दाबीलाई रेणुु र पार्वतीले कसरी सार्थक पार्ने हुन्, त्यो पनि हेर्नलायक नै हुनेछ । 

३ महिनापछि मतपरिणाम
भरतपुरको अन्तिम मत सार्वजनिक भएसँगै अर्को रेकर्ड पनि बनेको छ, त्यो हो निर्वाचन भएको निकै लामो अवधिपछि मात्र अन्तिम मत परिणाम सार्वजनिक हुने स्थानीय निकायको रेकर्ड । संघीय शासन व्यवस्थाको पहिलो अभ्यासको रुपमा अधिकारप्राप्त स्थानीय निकायको पहिलो निर्वाचनमा भरतपुर यस्तो स्थानीय तह बनेको छ, जहाँ मतदान भएको करिब ३ महिनापछि मात्र अन्तिम मत परिणाम आउन सक्यो । बैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन अन्तरगत यहाँ पनि मतदान भएको थियो । तर, मतगणनाको क्रममा वडानम्बर १९ को मत च्यातिएपछि गणनाको प्रक्रिया रोकिएको थियो । त्यसपछि अदालतमा पुुगेको यो प्रकरणमा निकै ढिलो गरी अदालतले आफ्नो फैसला सुनाएको थियो । जसका कारण बैशाख ३१ गतेको मतदान र त्यसपछि वडानम्बर १९ मा पुनः मतदान सम्पन्न गराएर अन्तिम मत परिणाम आउँदासम्म करिब ३ महिना व्यतित भएको छ । 

गठबन्धनको जित
भरतपुरमा रेणुु र पार्वतीको जितसँगै प्रमुख पदमा गठबन्धनको जितको शानदार रेकर्ड पनि कायम भएको छ । चुनाव सम्पन्न भएका पाँचवटा महानगरमध्ये कहीँ पनि दलहरुबीचको गठबन्धन प्रभावशाली भएको थिएन । पोखरामा समेत कांग्रेस माओवादीको गठबन्धन थियो, तर एमालेसँग सो गठबन्धनले लज्जास्पद हार व्यहोर्नुपर्यो । काठमाण्डौमा एमाले र राप्रपाले गठबन्धन गरे पनि एमालेका मेयर पदका उम्मेद्वारले जिते भने उपमेयरमा राप्रपाका उम्मेद्वारले लज्जास्पद हार व्यहोर्नुपर्यो । ललितपुरमा समेत दलहरुको गठबन्धन टिकेन । उता, विराटनगर महानगरपालिकामा समेत कांग्रेसको अगाडि न एमाले तथा फोरम लोकतान्त्रिकको गठबन्धन टिक्यो, न त माओवादी संघीय समाजवादी फोरमको गठबन्धन नै । तर, जसरी भए पनि भरतपुरमा कांग्रेस र माओवादी मिलेर आफ्नो गठबन्धनलाई सफल बनाईछाडे । महानगरमा गठबन्धनको जित भएको र प्रमुख दुवै पदमा गठबन्धनका उम्मेद्वारले नै बाजी मारेका अर्को रेकर्ड समेत कायम भएको छ । 

माओवादीको लाज छोपियो
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नी पुत्रीलाई जसरी भए पनि विजयी मात्र गराएनन्, बरु यो जितसँगै महानगरको निर्वाचनमा गुमेको पार्टीको लाज समेत छोप्ने सफलता प्राप्त गरे । कारण, भरतपुर बाहेक निर्वाचन सम्पन्न भएका ४ महानगरमध्ये कुनै पनि क्षेत्रमा माओवादीले जितेको थिएन । बरु अधिकांश महानगरमा माओवादीका उम्मेद्वारको जमानत नै जफत भएको थियो । चार महानगरमा लज्जाजनक अवस्थामा धकेलिएको माओवादीले भरतपुरमा भने कांग्रेसको साथका कारण मेयरमै बाजी मारेर संघीय शासन व्यवस्थाको पहिलो स्थानीय निर्वाचनमा एउटा महानगर माओवादीले समेत जितेको थियो भन्ने रेकर्ड बनाएको छ । 

हार्ने भएपछि हर्कत, दण्ड पाउनेलाई पुरस्कार
भरतपुर महानगरपालिकाको अन्तिम नतिजासँगै यो क्षेत्रको मतगणना हुँदा मतपत्र च्यातिएको बिषय समेत रेकर्डको रुपमा रहेको छ । कारण, स्थानीय तहका २ चरणको निर्वाचनमा अन्य कुनै पनि तहमा यस्तो हर्कत भएन । भरतपुरको वडानम्बर १९ को मतगणना भइरहँदा हार्ने अवस्था भएपछि नाटकीय रुपमा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातेको आरोपमा पक्राउ परेका माओवादी कार्यकर्तालाई केही दिनमै धरौटीमा छुुटाइएको थियो । कानूनले गम्भीर अपराध मानेको मतपत्र च्यात्ने काम गर्ने ती माओवादी कार्यकर्तालाई पार्टीले भने हिरासतमुक्त भएलगत्तै सम्मान गरेर दण्डित हुनुपर्नेलाई पुरस्कार दिने रेकर्ड बनाएको थियो । 

र, यस्तो पनि रेकर्ड !
रेणुु दाहालले जितेर देवी ज्ञवालीले हार्दा भरतपुरले राजनीतिमा जे पनि जायज हुन्छ भन्ने यथार्थलाई फेरि जिवित गर्ने रेकर्ड बनाएको छ । मतपत्र च्यात्नुुअघिसम्म देवी ज्ञवालीले जित्ने निश्चित झै देखिएकै कारण सुनियोजित ढंगले मतपत्र च्यात्ने, त्यही बेला मुख्य निर्वाचन अधिकृतलाई पिसाब लाग्ने, कांग्रेसका जिल्ला अध्यक्ष लगायतले घटनालाई देखेको नदेखे झै गर्ने, पुनः निर्वाचनका लागि सबैतिर सेटिङ मिलाएर करिब अढाई महिनापछि मात्र मिति तोक्ने, सो अवधिमा वडानम्बर १९ को घर घरमा पुुगेर मतदाता लोभ्याउनेदेखि, एमालेकै प्रतिबद्ध भनिएका कार्यकर्ताहरुलाई समेत खरीद गर्नेसम्मका काम गरी चुनाव जितेपछि अब सबैलाई भन्न करै लाग्छ–‘राजनीतिमा जे पनि जायज हुँदो रहेछ । यो कुरालाई भरतपुरले फेरि एकपटक पुष्टि गर्ने रेकर्ड बनाइदियो ।’