काठमाण्डौ । गरिमा विकास बैंक लिमीटेडले मंगलबारदेखि आफ्नो रेमिट प्रडक्ट गरिमा रेमिटमार्फत रेमिटेन्स व्यवसायको औपचारिक थालनी गरेको छ । 

एक कार्यक्रमका बीच बैंकका संचालक डा. आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममाबोल्दै सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरुमा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट जस्तो महत्वपूर्ण प्रोडक्ट सञ्चालनमा ल्याईएको र यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरिमा रेमिटले पहिलो चरणमा देशभित्रै मात्र पैसा पठाउने र पाउनसक्ने सुविधा दिने र दशैंपछिदेखि विदेशबाट पठाइएको पैसा समेत गरिमा रेमिटका एजेन्टहरुमार्फत पाउने व्यवस्था हुने जानकारी दिए । उनले बैंकले निकट भविष्यमै विदेशी मुद्रा विनियम सम्बन्धी काम गर्ने र भिसा डेबिट कार्ड समेत संचालनमा ल्याउने बताए ।  

काठमाण्डौं महानगरपालिका वार्ड नं.–२, लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले बैशाख महिनामा प्रदेश नं.१का झापा, मोरङ्ग र सुनसरी जिल्लामा ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हाल राजधानीमा ५ शाखा कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा एटीएम संचालनमा छन । 

साथै, विकास बैंकले छिट्टै नै झापाको दमक, काठमाण्डौंको नयाँबानेश्वर, भक्तपूरको सुर्यविनायक, ललितपूरको कूमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बांकेको नेपालगञ्ज, दाङ्गको घोराही र पोखराको रामबजारमा समेत शाखा कार्यालय स्थापना गर्दैछ । यी शाखा बिस्तारपछि बैंकको शाखा सञ्जाल ६६ पुग्नेछ । 

हल २ अर्ब ५३ करोड चुक्तापूँजी रहेको गरिमा विकास बैंकले २०७५ बैशाख मसान्तसम्म १८ अर्ब ९० करोड रुपैंया निक्षेप संकलन गरी १७ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यो अवधिमा बैंकले ४४ करोड संचालन नाफा आर्जन गरेको बताइएको छ ।