काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीहरुलाई धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले छलफलका लागि बोलाएका छन् । 

बिहीबार ५० वटै धितोपत्र दलाल व्यवसायीले हस्ताक्षर गरेको ज्ञापनपत्र बोर्डलाई बुझाएका थिए । 

स्टक ब्रोकर एशोसिएसनको नेतृत्वमा धितोपत्र दलाल व्यवसायीहरुले बोर्ड अध्यक्षविरुद्धको आगामी कदम र रणनीतिको विषयमा निश्कर्ष निकाल्न बैठक बसिरहेकै बेला अध्यक्षले केही ब्रोकरहरुलाई छलफलका लागि बोलाएका स्रोतले जनाएको छ । 

ब्रोकरहरुको आगामी कदमको बिषयमा छलफल जारी रहेकै बेला बोर्डका अध्यक्षले डाकेपछि आगामी रणनीतिको बिषयमा एशोसिएसनले कुनै निर्णय गरिसकेको छैन । डा. कार्कीले के उद्देश्यले छलफलमा बोलाएका हुन् र उनको आगामी कदम कस्तो हुन्छ भन्ने बिषय हेरेर मात्र आगामी रणनीति बनाउने गरी चलिरहेको बैठक समेत स्थगित गरिएको एक ब्रोकरले जानकारी दिए । 

‘नरेन्द्र सिजापति दाई लगायतका केही साथीहरु कार्कीले बोलाएका भन्दै जाउलाखेलस्थित बोर्ड जानुभएको छ ।’ ती ब्रोकरले भने–‘छलफलमा बोर्ड र ब्रोकरबीच चर्किएको दन्द न्यूनिकरण गर्ने बिषयमा कुराकानी हुनसक्छ।’ 

फागुन ७ गते संघीय संसदको अर्थसमितिमा भएको बैठकमा बोर्ड अध्यक्ष डा. कार्कीले स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटको अपमान हुने गरी प्रस्तुती दिएका आरोप लाग्दै आएको छ । उनले ब्रोकरहरुलाई अनुशासनहीन, क्षमताहीन र पूँजीबजारका शत्रुको उपमा समेत दिई संगीन टिप्पणी गरेका ब्रोकरहरुको आक्षेप छ । 

बोर्ड अध्यक्षको सो अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै ब्रोकरहरु संगठित रुपमा विरोधमा उत्रिएपछि त्यसले बजारलाई समेत नकारात्मक प्रभाव पारेको थियो । बजारको विकास र बिस्तारका लागि सहकार्य गर्नुपर्ने निकाय नै आपसी टकरावमा उत्रिएपछि यसले बजारको भविष्य अन्यौलमा पार्नसक्ने भन्दै सर्वत्र चिन्ता व्यक्त भइरहेको बेला बोर्ड अध्यक्षको निमन्त्रणाले जारी टकरावमा आइसब्रेक गर्ने अपेक्षा गरिएको छ ।