-भक्तराज रसाइली 
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की चौतर्फी संकटमा फस्दै गएका छन् ।
 
केही समययता कार्कीले लगानीकर्ता संघका नेता तथा बजारका मध्यस्थकर्ता सेयर दलाल व्यवसायीलाई उत्तेजित बनाई सरकारविरोधी सेन्टिमेन्ट्स बनाउन सहयोग गरेको भन्दै उनको ठाउँमा पार्टीको विश्वासपात्रलाई लैजानुपर्ने माग सत्तारुढ दलभित्रै तीव्र रुपमा उठिरहेको छ।
 
उनका विवादास्पद अभिव्यक्ति र लगानीकर्ता तथा बजारका सरोकारवाला पक्षहरुलाई निरुत्साहित गर्ने व्यवहारका कारण अर्थतन्त्रको ऐना मानिएको सेयरबजारमार्फत सरकारको छविको नकारात्मक प्रचार भइरहेकोमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सन्तुष्ट छैनन् । 'कम्युनिष्ट सरकार आएपछि सेयर बजार ध्वस्त हुन्छ' भनी लेख नै लेखेका डा. कार्कीलाई सकेसम्म चाँडो हटाउने रणनीतिमा सत्तारुढ दलका केही नेता लागेका स्रोतहरु बताउँछन् । 
 
प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले समेत कांग्रेस कार्यकर्ता समेत रहेका डा. कार्कीको गलत भूमिकाका कारण सरकार सेयर बजारको मञ्चमा बद्नाम भइरहेको दाबी गरे । ‘उहाँको भूमिका ठीक छैन ।’ ती सदस्यले भने–‘अहिले सबै कुरा भनिहाल्न जरुरी छैन, समय आएपछि सबै कुरा प्रष्टिनेछ ।’ 
 
डा. कार्कीले बजारको नियामक धितोपत्र बोर्डका अध्यक्ष भएकै बेला नेप्से इण्डेक्स १८ सयको विन्दू हँुदा कम्युनिष्ट सरकार आएपछि नेप्से घट्छ भन्दै एक पत्रिकामा लेख नै लेखेका थिए । 
 
कार्कीले जानाजान सेयर बजारको वातावरण धुमिल बनाएको, सरकारविरुद्ध अफवाह फैलाउन बजारसँग जोडिएका पक्षहरु: लगानीकर्ता, ब्रोकर लगायतलाई उत्तेजित पारेका र नजानिँदो गरी बोर्डमा बसेर प्रतिपक्षको जस्तो भूमिका खेलेका भन्दै बोर्डकै नेकपा निकटका केही अधिकृतहरु समेत संगठित रुपमा उनलाई हटाउने अभियानमा छन् ।
 
कम्युनिष्टहरुकै सत्ता चलिरहेको बेला हाल कम्युनिष्ट सरकारलाई सहयोग गर्ने व्यक्तिलाई अध्यक्ष बनाउन पाए काम गर्न सजिलो हुने बोर्डभित्रका उच्च अधिकृतहरुको अनुरोधलाई ओली क्याबिनेटका सदस्यहरुले ‘जायज’ भन्ने गरेका छन् ।
 
यो बीचमा बोर्डकै केही अधिकारीहरु भावी अध्यक्षको लविङमा समेत लागिसकेका उच्च स्रोत बताउँछ । 
 
डा. कार्कीको कार्यकाल अब ९ महिना मात्र बाँकी छ। उनी यो ९ महिनासम्म केही नयाँ काम गरी निर्विवाद घर जान चाहन्छन् । तर, परिस्थिति र भित्रभित्रै पाकिरहेको खिचडी हेर्दा उनको बहिर्गमन सहज हुने छाँट भने देखिन्न । 
 
त्यसो त उनले नेपालको सेयर बजारको विकास र बिस्तारका लागि काम नै नगरेका भने होइनन् । प्राथमिक बजारलाई निकै सुधार गरेका उनले दोश्रो बजार सुधारमा भने पिटिक्कै ध्यान नदिएका आरोप समेत लाग्ने गरेको छ । नेप्से नै दोश्रो बजारको फ्रन्ट लाइन रेगुलेटर रहेको भन्दै डा कार्की दोश्रो बजारको विकास र बिस्तारमा त्यति धेरै संवेदनशील नरहेका रिपोर्ट बालुवाटारसम्मै पुगेको छ । 
 
रोचक कुरा त हिजोका दिनमा कार्कीकै वरिपरि घुम्ने बोर्डका केही अधिकृत समेत हात धोएरै भावी अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै मन्त्रालय, सत्तासीन दलका विभिन्न नेताको घरदैलो धाइरहेका छन् । कार्कीकै विश्वासपात्र भनिएका नै भित्रभित्रै उनीविरुद्ध लागेकोले आउँदा दिन उनका लागि सहज नहुने सहजै अनुमान गर्न सकिन्छ । 
 
संघीय संसदको अर्थसमितिले ७ फागुनमा आयोजना गरेको छलफलमा अध्यक्ष कार्की ब्रोकरविरुद्ध खनिए । आफूहरुलाई कार्कीले असक्षम, अपारदर्शी र अदूरदर्शी भनेको रीस फेर्न क्रूद्ध भएका ब्रोकरहरुले प्रधानमन्त्री कार्यालयसम्मै कार्कीविरुद्ध १०१ बुँदे कम्प्लेन पुर्याएका उच्च स्रोत बताउँछ । यही कुरा थाहा पाएका चलाख कार्कीले आफू घर विदामा बसेर ब्रोकरसँग राम्रो सम्बन्ध बनाउन खोजे पनि समय उनी अनुकूल नरहेको विश्लेषण गरिएको छ । 
 
ब्रोकरका माग पूरा गरेरै भए पनि कुर्सी जोगाउने अभियानमा रहेका कार्की भने अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नो साथी भएकोले तत्काल बोर्ड छाड्नु नपर्ने दाबी गर्दै बसिरहेका छन् । तर, उनलाई भेट्न बोर्ड पुग्नेहरुलाई भन्ने गरेका छन्–‘पहिला त साथी थियो, पदमा पुगेपछि मान्छे ठूलो हुँदोरहेछ।’ उनको यो अभिव्यक्तिले पछिल्लो समय उनको अर्थमन्त्री खतिवडासँग ट्यूनिङ नमिलेको देखिन्छ । यसले उनलाई संकटको भूमरीमा पार्न थप मद्धत गरेको छ ।  
 
ब्रोकरहरुले अर्थमन्त्रालय, विभिन्न दलका नेतादेखि प्रम कार्यालयसम्म पुर्याएका १०१ बुँदामा डा. कार्कीले बोर्ड अध्यक्षको पद दुरुपयोग गरेर के के गलत काम गरेका छन् भन्ने बिषय समेटिएको स्रोत बताउँछ । ती बुँदामार्फत डा. कार्कीका गलत कामको आफूहरुले पर्दाफास गरेको ब्रोकर दाबी गर्छन् । तर, कार्कीले गलत काम के-के गरे ? भनेर हामीले खोज्दा ‘अहिले खुलाउन मिल्दैन’ भन्दै ती ब्रोकर तर्किए ।
 
एक ब्रोकरले केही बुँदाका प्रमाण समेत पेश भएकोले कार्कीको विकल्प खोज्न सरकार लागिसकेको दाबी गरे । 
 
त्यसो त अरु बेला नियामक भन्नेबित्तिकै थुरुरु हुने ब्रोकरहरु यसपटक भने अध्यक्ष कार्कीको अभिव्यक्तिकै विषयलाई लिएर बढी नै क्रूद्ध देखिए । यसमा समेत सरकार पक्षकै इशाराले काम गरेको स्रोतहरु दाबी गर्छन । 
 
‘ब्रोकरेज सेवा भनेको लाइसेन्स विजिनेश हो । यसपटक ब्रोकरहरु बोर्डका अध्यक्षविरुद्ध जसरी जाइलागे, उनीहरुको एकल आँटले मात्र यो काम संभव हुँदैन ।’ स्रोत भन्छ–‘सरकार पक्षबाट ग्रीन सिग्नल पाएकै कारण ब्रोकर कडा रुपमा प्रस्तुत भए र यो कुरा बुझेकै कारण डा. कार्कीले समेत घरविदा लिई ब्रोकरहरुलाई थुमथुम्याउने काम गरे ।’ 
 
पूँजी बजारको विकास र विस्तारमा ध्यान नदिई व्यक्तिगत सनक र इच्छामा चल्दै आएका भनी संगीन आरोप खेपिरहेका कार्कीसँग बोर्डका अधिकांश कर्मचारीहरु समेत रुष्ट रहेका खोजीको क्रममा भेटिएको छ । 
 
बोर्डका एक कर्मचारीले एफपीओ र हकप्रद निश्कासनका लागि अनुमति दिँदा गलत ढंगको चलखेल लामो समयदेखि हुँदै आए पनि अर्थमन्त्रालयले यसप्रति चासो नदिएको दाबी गरे । बोर्डमा छँदा कार्की नेतृत्वमा रातारात भएका कानून तथा नियमावली संसोधनमा छानबिन हुनुपर्ने ती कर्मचारीको माग छ । 
 
बोर्डका अधिकृत स्तरका कर्मचारी समेत डा. कार्कीले अवसर बाँडफाँड गर्दा भेदभाव गर्ने गरेका भन्दै रुष्ट देखिएका छन् । विदेशमा आयोजना हुने तालिम र अन्य कार्यक्रममा अध्यक्ष कार्कीले आफ्ना आसेपासेलाई मात्र पठाउने गरेका भन्दै बोर्डभित्रै उनीविरुद्ध निकै ठूलो आक्रोश रहेको देखिएको छ । 
 
उनीविरुद्ध बोर्डमै समेत उकुसमुकुसको वातावरण बन्दै गएको देखिएको छ । कतिपय कर्मचारी त विद्रोहकै मनस्थितिमा पुगिसकेका स्रोत दाबी गर्छ । बोर्डभित्रै पनि नरुचाइन थालिएपछि र आफ्नै कर्मचारीले चौतर्फी असहयोग गरिरहेका कारण डा. कार्की संकटको भूमरीमा फसिसकेका अनुमान गर्न सकिन्छ । 
 
यो भूमरीबाट उनी निस्किने हुन् या बोर्ड नै छाडेर हिँड्नुपर्ने अवस्था आउने हो, यसका लागि केही साताको समय नै काफी हुनसक्छ ।