-भक्तराज रसाइली 
काठमाण्डौ । पूँजीबजारमा बिदेशी लगानी भित्र्याउनसक्ने क्षमता नेपालसँग नभएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले दाबी गरेका छन् ।

अर्थसमितिले पूँजीबजारका विषयमा डाकेको बैठकमा बोल्दै बोर्डका अध्यक्ष कार्कीले बोर्डको कार्यक्रममा राखिएको, तर हाललाई बिदेशी भित्र्याउने क्षमता कुनै पनि कोणबाट नभएको दाबी गरे । ‘हामीसँग क्षमता नै छैन, तत्काल केही हुनेवाला पनि छैन ।’ कार्कीले भने ।

एनआरएनले बिदेशमा झै धेरै सुविधा खोज्ने तर्क राखेका कार्कीले न्यूनतम वा अधिकतम कति र कति वर्षसम्म दिने भन्ने अन्यौल कायमै रहेकाले बिदेशी लगानी नेपालको पूँजीबजारमा भित्र्याउन नसकिने तर्क अघि सारे ।

बिदेशी लगानी भित्र्याउन नसक्नुका पछाडि मुलुकको क्षमतामा खोट रहेको बताउँदै सुशासनको समेत कमी रहेको अध्यक्ष कार्कीको भनाइ छ।  

कार्कीले बैठकमा ४० वर्षको आर्थिक क्षेत्रको आफूसँग ज्ञान र अनुभव रहेको उल्लेख गर्दै नियामक धितोपत्र बोर्डले विदेशी लगानी भित्र्याउनसक्ने खालको व्यवस्था कार्यान्वयनका लागि किन पहल गर्न सकेन भन्ने विषयमा चाहि केही पनि बताउन चाहेनन् । 

उनले बोर्डको अध्यक्षको कार्यभार सम्हालेको दिनदेखि नै पूँजीबजारमा विदेशी लगानी भित्र्याउने कुरा गर्दै आएका थिए । तर, आफ्नो कार्यकालको अन्तिम समयमा उनले अर्थ समितिकै बैठकमा विदेशी लगानी भित्र्याउन नसकिने कुरा गरेका हुन् । धेरैले कार्कीको सो अभिव्यक्तिलाई उनी बोर्डमा आएपछि आफ्ना लागि लोकप्रिय बनेको पूँजीबजारमा विदेशी लगानी भित्र्याउने अजेण्डा सफल हुन नसकेको स्वीकारोक्तिको रुपमा समेत  बुझेका छन् ।