काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइपीओ बिक्री बन्द गरेको ६ दिनपछि बुधबार(भोलि) बाँडफाँड गर्ने भएको छ । तर, यो कम्पनीको आइपीओ पनि १ लाख बढी लगानीकर्ताले पाउने छैनन् ।  

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १८ गुणा बढीको हाराहारीमा आवेदन परेको छ । 

लगानीकर्ताले १ करोड ३६ लाख ३८ हजार कित्ताका लागि आवेदन दिएका छन् । कुल १ लाख ७७ हजार ३ सय ५० आवेदकबाट १ अर्ब ३६ करोड ३८ लाख बढीको आवेदन परेको हो । 

सार्वजनिक निश्कासनमा १० कित्ताको अनिवार्य नियम लागू भएका कारण आवेदक दिएकाहरुमा गोलाप्रथा गरिनेछ । सो क्रममा १० कित्ताको दरले ७६ हजार ४ सय ४० भाग्यमानी आवेदकले मात्र सेयर पाउनेछन् । बाँकी १ लाख ९ सय १० आवेदकको हात रित्तो हुनेछ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता, आफ्ना कर्मचारी तथा म्युचुअल फण्डहरुका लागि समेत गरी ८ लाख ४० हजार कित्ता आइपीओ अंकित मूल्य १०० रुपैयाँमा निश्कासन गरेको थियो ।

स्वीकृत कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ३३ हजार ६ सय रैराङका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ९१ प्रतिशतले हुन आउने ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।  

कम्पनीले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्मका लागि खरीद गर्न सकिने व्यवस्था गरेको थियो । 

यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल पाँचथर र ताप्लेजुङका सर्वसाधारणका लागि ५ करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोश्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन हुन लागेको हो । 

हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ । कम्पनीमा  संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेकोमा त्यसलाई घटाउन आइपीओ जारी गरिएको हो ।

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ । यो आयोजनामा २५ प्रतिशत सेयर स्वामित्व रिडी हाइड्रोपावरको रहेको छ ।