काठमाण्डौ । मंगलबार पनि बजार बढ्न सकेन । यो दिन नेप्से परिसूचक ८.३६ अंकले घटेर ११८१.८४ को विन्दूमा सीमित हुन पुग्यो । 

नेप्से परिसूचकमा लगातार गिरावटसँगै मंगलबार कारोबार रकम पनि घटेको छ । यो दिन कारोबार रकम घटेर साढे १७ करोडमा सीमित हुन पुगेको छ । 

नेप्से परिसूचकसँगै कारोबार रकम घट्दै जानु राम्रो संकेत होइन । अनलाइन प्रणालीको कार्यान्वयनसँगै बजार बुम हुने आशामा रहेका लगानीकर्ता बजारको दैनिकजसोको उल्टो यात्राबाट त्रसित भएका छन् । अनलाइन आएपछि पनि बजार नबढेकोमा कुनै चलखेल पो भइरहेको छ कि भन्ने आशंका समेत लगानीकर्ताहरुमा पर्न थालेको छ । 

केही स्रोतहरुको दाबीलाई साँचो मान्ने हो भने अवस्था केही असहज र अन्यौलपूर्ण भएको फाइदा उठाएर केही गिरोह नियोजित रुपमै बजार घटाउन लागि परेको छ । गिरोहहरुको यस्तै चलखेलबाट आजित कतिपय लगानीकर्ता नेप्सेमा दवाब दिन समेत मंगलबार बजार बन्द भएपछि नेप्से कार्यालय पुगेका छन् । 

बजार अन्यौलपूर्ण बन्दै जाँदा लगानीकर्ताले दैनिक करोडौं रुपैयाँ गुमाइरहेका छन् भने कतिपय कम्पनीको मूल्य निकै तल झरिसकेको छ । यस्तो अवस्थामा बजार घटाउने चलखेल भएको हो भने त्यसलाई पहिचान गरी बजार सुधारका लागि सम्बद्ध निकायहरुले पहल लिनुपर्ने आवाज समेत लगानीकर्ताहरुले उठाइरहेका छन् । 

अन्यौल र मनोवैज्ञानिक दवाबका बीच मंगलबार उत्पादनमूलक समूह ७.२२ अंकले बढ्यो । बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

बैंकिङ समूह ८.६३ अंकले घटेको यो दिन होटल समूहमा ०.८१ अंक,  विकास बैंक समूह ५.८ अंक, जलविद्युत समूह २.२३ अंक, बित्त समूह २.६६ अंक, निर्जीवन बिमा समूह ६३.०७ अंक, माइक्राफाइनान्स समूह ७.३५ अंक, जीवन बिमा समूह २३.८६ अंक र अन्य समूह ६.२९ अंकले घटे । 

यो दिन बजारमा १ सय ४५ कम्पनीका ५ लाख ६६ हजार ६ सय ६९ कित्ता सेयरको कारोबार भयो । 

सबैभन्दा बढी नेपाल बैंकले २ करोड ३७ लाख बढीको कारोबार गर्यो । यसैगरी, एनआइसी एशियाले ८० लाख, बैंक अफ काठमाण्डूले ७९ लाख, एनएमबी बैंकले ६२ लाख, प्रभू बैंकले ५५ लाख, गण्डकी विकास बैंके ५३ लाख, नाडेप लघुवित्तले ४६ लाख, एभरेष्ट बैंकले ४६ लाख, सिभिल बैंकले ३९ लाख बढीको कारोबार गरे।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन किसान माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन पनि एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा नेगेटिभ सर्किट ब्रेकर लाग्यो । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आयो ।